
दैलेख – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले १५ सय ५७ जना निर्वाचन प्रहरीको भर्ना खुलाएको छ । आज पुस २५ देखि थालिएको र माघ १ गतेसम्म दरखास्त लिइने बताइएको छ ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, सेना–प्रहरीका सेवानिवृत्त, यस अघिका निर्वाचनमा म्यादी प्रहरीमा इमान्दारितासंग काम गरेका, सुरक्षा निकायमा सेवा गर्न रुची भएका शारीरिक तन्दुरुस्त व्यक्तिलाई प्राथमिकता दिइने उल्लेख छ ।
जिल्ला सदरमुकाममा जिल्ला प्रहरी कार्यालय, नौमूले इलाका प्रहरी कार्यालय, दुल्लू इलाका प्रहरी कार्यालय र राकम इलाका प्रहरी कार्यालय समेत गरी ४ स्थानमा आवेदन दिन पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।
योग्यता पुगेको इच्छुक व्यक्तिहरुको समय र श्रोतको किफाययी होस् भनेर दैलेखका ४ स्थानमा निर्वाचन प्रहरीमा आवेदन भर्न सकिने व्यवस्था मिलाइएको र यसले धेरै जना इच्छुकहरुको आवेदन संकलन हुने दैलेखका प्रहरी इञ्जार्ज डीएसपी बरालले आशा व्यक्त गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्