दैलेख – पञ्चकोशी अपाङ विकास मञ्चका अध्यक्ष कमल खड्काले सरकारी संरचना निर्माण गर्दा अपाङमैत्री नहुँदा अपाङगता भएका सेवाग्राहीहरुलाई असुविधा भएको समस्या सुनाउनुभयो । पत्रकार केशव पौडेलले प्रशासनले सार्वजनिक यातायात भाडादर कायम नगराएको कारण यात्रुहरुलाई मर्का परेको विषय उठाउनुभयो । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले दैलेख सदरमुकाममा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा समस्या दर्शाउनुभएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा अटो व्यवसायी चक्र गौतमलेनारायण नगरपालिकाले अटो रिक्सा दर्ता गराउन लिएको ३७ सय चर्को परेको, पत्रकार कमल शर्माले ग्रामीण सडकहरुमा रुप परमिट र भाडादर तोक्ने पर्ने, अधिकारकर्मी प्रकाश बुढाले प्रहरीमा फौजादारी मुद्दाका पीडितले जाहेरी दर्तामा सरल बनाउन पर्ने, गैसस महासंघकी जिल्ला अध्यक्ष डिलकुमारी चन्दले सरकारले गैससहरु प्रवद्र्धनका कार्यक्रम राख्नुपर्ने जस्ता सरकारी सेवा सुदृढ गर्नुपर्ने सुझाव दिनुभयो ।
पत्रकार दिपेन्द्र कार्कीले कालोपत्रे गरेका सडकहरु मापदण्ड अनुसार नभएका, निर्माणका कामहरु चलिरहेको बेला प्राविधिक चेकजाँच लापरवाही भएको, पत्रकारले समाचार लेखेको कारण सुरक्षा चुनौती बढेको समस्या दर्शाउनुभयो । नारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष शैलेस श्रेष्ठले बदेल र बाँदर लगायतका बन्यजन्तुहरुले बालीनाली नोक्सान पार्ने क्रम बढेपछि ग्रामीण क्षेत्रबाट बस्ती गर्ने क्रम बढेकोले रोकथाममा सबै निकाय गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु, जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज गणेशबहादुर बराल, नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको जवाफ दिंदै समस्या सुल्झाउने प्रतिवद्धता जनाउनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाही, नारायण नगरपालिकाका कार्यवाहक मेयर गोपाल बीसीले कार्यक्रममा प्रभाकारी रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्