
दैलेख – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । त्यसक्रममा दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन कार्य सम्पादन गर्ने गरी दुबै निर्वाचन नेतृत्व गर्न दैलेख जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । दैलेख निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव लोकहरी कँडेललाई नियुक्त गरेको छ ।
निर्वाचन आयोगको कार्यसूची अनुसार पुस २६, २७ र २८ गते लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका निर्वाचन अधिकृतहरु र जिल्ला निर्वाचन कार्यालयको कार्यालय प्रमुख समेतलाई अभिमुकरण कार्यक्रम राखेको छ । अभिमुकरणपछि आयोगले माघ २ गते १६५ क्षेत्रका निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गर्ने कार्यक्रम तय भएको छ । दैलेखका दुवै निर्वाचन क्षेत्रमा १ लाख ६१ हजार २०४ मतदाता, १३९ मतदान स्थल र
२०८ मतदान केन्द्र रहेका छन् ।
जिल्ला सदरमुकाम रहेको निर्वाचन क्षेत्रको निर्वाचन कार्य सम्पादन हेर्ने र जिल्ला भित्रका सबै निर्वाचन क्षेत्र समन्वय जिम्मेवारी सहित ७७ वटै जिल्लामा बरिष्ठतम् जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्ने निर्वाचन ऐनमा व्यवस्था छ । नेपालमा ३५ जिल्लामा १-१ निर्वाचन क्षेत्र, २१ जिल्लामा २-२ निर्वाचन क्षेत्र, ७ जिल्लामा ३-३ निर्वाचन क्षेत्र, ९ जिल्लामा ४-४ निर्वाचन क्षेत्र, ३ जिल्लामा ५-५ निर्वाचन क्षेत्र, मोरङमा ६ निर्वाचन क्षेत्र र काठमाण्डौं जिल्लामा १० निर्वाचन क्षेत्र छन् ।

















प्रतिक्रिया दिनुहोस्