२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

बलात्कारको मुद्दा बालविवाहमा परिणत



दैलेख – १४ वर्षीया बालिकालाई बलात्कार गरेको भनी दिएको उजुरी बालविवाहमा परिणत भएको छ । दैलेख जिल्ला अदालतले आइतबार नारायण नगरपालिका–६ भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई एक वर्ष कैद र १० हजार रुपैंयाँ जरिवाना गरेको छ ।

पीडित पक्षले बलात्कार भएको भनी उजुरी गरेकोमा अदालती तहकीकात फेला परेका तथ्यका आधारमा बालविवाह ठहर भएको भन्दै न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट उक्त सजाय भएको अदालतका सूचना अधिकारी नासु गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

तहकीकातबाट ती बालिका र आरोपित युवकले परिवारको सहमति बिनै विवाह गर्ने उद्देश्यले घरमा लिएको तर बालिकाका अभिभावकले बलात्कार मुद्दा दर्ता गराएको देखिएकोले बालविवाह ठहर भएको फैसलामा उल्लेख छ । बालिका अभिभावककै संरक्षणमा छिन् र कसूरदार युवक कारागार थुनामा छन् ।

०८१ माघ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २४ गते जिल्ल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले २४ गते पक्राउ गरेको थियो । उजुरी परेकै दिन माघ २४ गते युवतीको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भएको थियो।

०८१ फागुन १८ गते जिल्ला सरकारी वकील कार्यालय मार्फत दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी अभियोग दर्ता भएकोमा भोलिपल्ट चैत १९ गते जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट पुर्पक्षका लागि दैलेख कारागार पठाउने आदेश भएको थियो ।

प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार