२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

दैलेख प्रहरीलाई लागु औषध रोकथाम चुनौती



दैलेख – प्रहरी हिरासतमा यति बेला ६ जना थुनुवा रहेका, मंसिर महिनामा २० वटा लैंगिक हिंसाका उजुरी आएका, यो अवधिमा १४ वटा ठाडो उजुरी, ४ वटा आत्महत्या, ४ वटा सवारी दुर्घटना, अवैध दुई नाले बन्दुक नियन्त्रण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले अघिल्लो महिनामा गरिएका क्रियाकलापहरुको जानकारी गराउन आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्य जानकारी दिइएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रहरीका इकाईबाट समाजमा हुने विकृति तथा विसंगति हटाउन १४ सय ४७ वटा सचेतनामूलक कार्यक्रम भएका, जिल्ला प्रशासन कार्यालय दैलेखबाट नागरिकता सम्वन्धी जाँचबुझ गरी १२ मुचुल्का गरेको, प्रहरीको हटलाइनमा ८ सय १ कलबाट आएका समस्या सुनुवाई भएको, मंसिर महिनाभरी १२ सय ३५ जना सेवाग्राहीहरु कार्यालयमा आएका प्रहरीले उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, स्थानीय सरकार र नागरिक समाजले आमन्त्रण गरिएका कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका अधिकारीहरु र अन्तरगतका इकाईहरुका प्रतिनिधिहरुले सचेतनाका अभियानहरुमा सहकार्य गर्दै जिल्लाको शान्ति सुरक्षा सवल बनाउन सन्देश प्रवाह पुगेको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

जनस्तरमा प्रहरी प्रशासनप्रति सकारात्मक भावना भएकै कारण गएको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन वा अरु राजनीतिक तथा प्रदर्शनहरुको बेला समेत दैलेखमा कुनै अप्रिय घटना नभएका, समुदायकै सहयोगले अपराध रोकथाममा राम्रै सहयोग रहेको तर युवाहरुमा लागु औषध दुर्व्यसनी रोकथाम प्रहरीका लागि मुख्य चुनौती बनेको डीएसपी बरालले सुनाउनुभयो ।

प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार