२०८२ मंसिर २२ , सोमबार (2025 Dec 9, Tuesday)

रणनीतिक योजना निम्ति सुझाव संकलन 



दैलेख – मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयको आयोजनामा बुधवार विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माण विषयमा नारायण बहुमुखी क्याम्पस दैलेखमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

निर्देशनालयका कार्यकारी निर्देशक एवम् पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काको अध्यक्षतामा सो अन्तरक्रिया कार्यक्रम विश्वविद्यालयकाे याेजना र श्राेतकाे खाेजी विषयमा छलफल भएको हो ।

कार्यक्रममा नारायण क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष पूर्वसाँसद रबीन्द्रराज शर्माले श्रमबजारको माग अनुरुप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय पूँजी निर्माणमा योगदान गर्ने शिक्षा प्रणालीको अपरिहार्यता रहेकाे बताउनुभयो ।

संयाेजक डा. खड्काले आफ्नो गृहजिल्लास्थित क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावहरू विश्वविद्यालयको आगामी रणनीतिक योजनामा समेट्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई झिकाउने, सिकाउने, टिकाउने र बिकाउने गरी योजना निर्माण गरिने बताउनुभयो ।

त्यसबखत नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य समेत रहनुभएका ग्र्याजुएट स्कूल अफ इन्जिनियरका डीन सहप्राध्यापक डा. राजन सुवाल, नारायण क्याम्पस संचालक समितिका पूर्वअध्यक्षहरु टेकबहादुर खाँड, खड्कबहादुर सिंजापती, तेजबहादुर चन्द समेतले रणनीतिक याेजनाकाे महत्त्व बारे बाेल्नुभएकाे थियाे ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनार, उक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष सुष्मा शाही, सामुदायिक विद्यालयका प्रधानाध्यापकद्वय निरक तारामी र दानबहादुर थापा, निजी विद्यालयका विष्णु पोख्रेल, उपप्राध्यापकद्वय डबलबहादुर बुढा र नारायण क्याम्पसका पिताम्बर खड्काले पनि रणनीतिक याेजनामा पृष्ठपाेषण दिनुभएको थियाे ।

वक्ताहरुले नियमित तथा प्रविधिमैत्री शिक्षण पद्धति, व्यवहारिक एवम् जीवनोपयोगी शिक्षाको आवश्यकता, विश्वविद्यालयकाे शैक्षिक  विकास तथा विस्तारका लागि अबलम्बन गर्नुपर्ने उपायहरु बारे योजनामा समेट्नुपर्ने विषयमा सुझाव दिनुभएको थियाे ।

क्याम्पस प्रमुख नरबहादुर शाहीकाे स्वागत मन्तव्य तथा पूर्वक्याम्पस प्रमुख सुरेन्द्र अधिकारले सञ्चालन गर्नुभएको साे कार्यक्रममा रणनीतिक योजना निर्माण विषयमा उठेका विषयमा  कार्यदलका सदस्यत्रय दबल बुढा, रुपा थापा र निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले टिपाेर्ट  गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार