२०८२ मंसिर २५ , बिहीबार (2025 Dec 11, Thursday)

पाेषण प्रवर्द्धनका लागि कृषि मेला



दैलेख – कर्णाली प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बिनोदकुमार शाहले कृषकहरुले उत्पादन गर्ने खाद्यबस्तुले मानव अस्तित्वमा रहेको बताउनुभएको छ । एभरेष्ट क्वलको साझेदारीमा डुंगेश्वर गाउँपालिकाको आयोजनामा डाँडापराजुलमा भएको कृषि मेला प्रदर्शनीमा उहाँले उत्पादन बढाउन कृषि व्यवसायमा आधुनिकीकरण र लगनशीलताको आवश्यकता दर्शाउनुभयो ।

कृषि पेशाका लागि नेपालको भूभाग, जैविक अवस्था र हावापानी समेतले विश्वकै उत्कृष्ट भएर पनि युवाहरु पलायनले अपेक्षाकृत सफलता हासिल हुन नसकेको उल्लेख गर्दै मन्त्री शाहले कर्णाली प्रदेश सरकारले बैंकबाट लिएको कृषि ऋण सम्पूर्ण व्याज तिर्ने, मन्त्रालयले गर्ने वितरणमुखी कार्यक्रमहरुमा ५० प्रतिशत अनुदान लगायतका कार्यक्रमबाट लाभ लिन कृषकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसीले गाउँपालिकाले पशुपालन, व्यवसायिक तरकारी खेती लगायतका कार्यक्रमहरुमा गाउँपालिकाले बजेट बिनियोजन गरेको बताउनुभयो । त्यसबखत कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दसरथ पाण्डेले सीमित साधन श्रोतबाट ससाना सिचाई आयोजना, कृषि प्रविधि प्रसार, रैथाने बाली प्रवद्र्धनका काम गरिहरेको प्रष्ट्याउनुभयो ।

एभरेष्ट क्लवका महासचिव यज्ञराज थापा, कार्यकारी निर्देशक दिपक शाही, डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपाने लगायतले कृषि व्यवसाय उत्पे्ररणाका लागि कृषि मेला र पोषणको सम्वन्ध बारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा पोषण परियोजनाले गरिरहेका क्रियाकलाप र स्थानीय कृषकहरुले उत्पादन गरेका अन्न, तरकारी र फलफूल लगायतका कृषि उपजहरु प्रदर्शनी राखिएका थिए ।

कृषि मेलाको अर्को मुख्य आकर्षण समुदायमा गठित आमा समूहबीच कृषि र पोषण सवालमै लोक गीत प्रतियोगिता भएको थियो । प्रतियोगितामा चौरी आमा समूह, स्वास्थ्य आमा समूह र कल्सेडुंग्रा आमा समूहले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी पाँच हजार, चार हजार र तीन हजार पुरस्कार प्राप्त गरेका थिए । लाेकेन्द्र जीसी कुमार लगायतका अतिथि कलाकारहरुले पनि साँगीतिक प्रस्तूती राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार