
दैलेख – आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीको क्रममा मतदान स्थल तथा केन्द्र पुनरावलोकन समितिले २ वटा स्थानलाई ठाउँसारी र ८ वटा मतदान केन्द्रको नाम परिवर्तन गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहको अध्यक्षतामा हिजो बसेको बैठकले निर्णय गरेको हो ।
गुराँस गाउँपालिका–५ को भगवती आवि काफलमेलामा रहेको मतदान केन्द्र पार्वती मावि गोगनपानी र चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ पृथ्वी आधारभूत विद्यालय टाकुरेबाडी मतदान केन्द्र चाहिँ ६ नं. वडा कार्यालयमा सार्ने निर्णय भएको निर्वाचन अधिकारी नरबहादुर सलामीले जानकारी दिनुभयो ।
यी दुइटै आधारभूत विद्यालय मर्ज भई भौतिक संरचना समेत नरहेको कारण नयाँ ठाउँमा सारिएको र दैलेख जिल्लाभर अरु आठ वटा मतदान केन्द्रहरु कतै पुराना गाविस भवन र विद्यालयका अघिल्ला नामहरु संघीय संरचनामा परिवर्तित नाम उल्लेख गर्न पालिकाको सिफारिस अनुसार नाम परिवर्तन गरिएको हो ।
नाम परिवर्तन गरिएकाहरुमा नौमूले गाउँपालिका–५ मा गाविस भवन भनिएकोलाई प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. ७ नेरा आवि पैतीको मतदान केन्द्रको नाम विद्यालय स्तरबृद्धि भइसकेकोले नेरा मावि पैती मतदान केन्द्र नाम मात्र परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
त्यसैगरी मतदान स्थल तथा केन्द्र पुनरावलोकन समितिले महाबु गाउँपालिका वडा नं. १, २, ३ का पुराना गाविस भवन नाम दिइएका मतदान केन्द्रहरुलाई वडा नं. १ को जयन्ती मावि खरिगैरा, वडा नं. २ जगदीश मावि बडाखोला र वडा नं. ३ को मालिका मावि मतदान केन्द्र नाम परिवर्तन गरेको छ ।
भैरबी गाउँपालिका–५ मष्टामाडु आवि डोक्रा मतदान केन्द्रलाई मष्टामाडु मावि डोक्रा, ठाँटीकाँध गाउँपालिका–३ गाविस भवन मतदान केन्द्र भवानी मावि बाहाकोट र ठाँटीकाँध–३ कै अर्को मतदान केन्द्र नेरा आवि धामीगाउँ विद्यालय माविमा स्तरबृद्धि भएकोले नेरा मावि धामीगाउँ मतदान केन्द्र नाम दिइएको छ ।
मतदान केन्द्र स्थल र नामहरु पहिचानमा स्पष्टताका लागि २ वटा ठाउँसारी र ८ वटा मतदान केन्द्रको नाम परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी नासु तीर्थ सुबेदीले बताउनुभयो । दैलेखका दुई वटै संसदीय निर्वाचन क्षेत्रका कुल १३६ मतदान स्थल र २०७ मतदान केन्द्र छन् ।
मतदान स्थल तथा केन्द्र पुनरावलोकन समितिको बैठकमा दैलेखमा क्रियाशील राजनीतिकका प्रतिनिधिहरु नेपाली काँग्रेसका कोषाध्यक्ष सन्देश श्रेष्ठ, नेपाली कम्यूनिष्ट पार्टीका नमन शाही, रास्वपाका प्रकाश बुढा, राप्रपाका रणबहादुर सिंह, नेमकिपाका रत्नबहादुर श्रेष्ठ, जनमोर्चाका नरबहादुर सिंह सहभागी हुनुहुन्थ्यो । एमालेकाे जिल्ला नेतृत्व हिजाे दुल्लूमा केन्द्रित भएकाेले बैठकमा प्रतिनिधित्व थिएन ।
नौमूले गाउँपालिका अध्यक्ष छबिराम सुबेदी, सशस्त्र प्रहरी नायव उपरीक्षक मीनराज भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालय दैलेखका प्रमुख सुन्दरमणी पोखरेल, प्रहरी निरीक्षक लक्ष्मण पचभैया, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार लगायतको उपस्थिति थियो ।











प्रतिक्रिया दिनुहोस्