२०८२ मंसिर २२ , सोमबार (2025 Dec 9, Tuesday)

चुनावको वातावरण छैन : महासचिव पोखरेल



दैलेख – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको अवस्थामा चुनाव हुन नसक्ने बताउनुभएको छ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत दुल्लूमा भएको जनसभालाई सम्बोधन गर्दै कैदीहरु जेलबाट भागेको, प्रहरीको मनोबल घटेको अवस्था चुनाव हुन नसक्ने उहाँले टिप्पणी गर्नुभयो ।

जननिर्वाचित सरकार अपदस्त भएका बंगलादेश र यस्तै अरु ठाऊँहरुमा चुनाव हुन नसकेको उदाहरण दिंदै नागरिक सरकारका मन्त्री दल खोलेर कसरी निष्पक्ष चुनाव हुन सक्छ ? महासचिव पोखरेलले प्रश्न गर्नुभयो । प्रहरीले अनुसन्धान गर्न पाउने अवस्थामा मात्र नागरिकमा चुनावको विश्वास पैदा हुने बताउनुभयो ।

भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाल राज्यलाई कमजोर पार्नका लागि रचिएको षडयन्त्र भएको उहाँको भनाइ छ । सिंहदरबार, सर्वोच्च अदालत जस्ता राज्यको सम्पति जलाउने राज्यमाथि गम्भीर अपराध राज्यद्रोहीहरुलाई आन्दोलनकारी भन्न नसकिने महासचिव पोखरेलले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमाले श्रमजीविहरुको पार्टी भएकोले संविधानको रक्षा, स्थायित्व र प्रतिगामी कदम विरूद्ध जनप्रदर्शनमा उत्रनु परेको बताउनुभयो । समाज रहेको विभेद, असमानता र अत्याचार विरुद्ध एमाले सारथी बन्ने आश्वासन दिनुभयो ।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार