२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

सामुहिक कुटपिटबाट युवा घाइते



आरोपित चिनबहादुर शाही र रक्ताम्य घाइते सुरेन्द्र रावत

दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ काफलगैराका २७ वर्षीय युवा संरेन्द्र रावत सामुहिक कुटपिटबाट सख्त घाइते भएका छन् । ठाटीकाँध गाउँपालिका–३ सल्लेरी गाउँका असोज १८ गते उपेन्द्र दशौदीको विवाहबाट फर्किदा उनी माथि सामुहिक कुटपिट भएको हो ।

ठाटीकाँध गाउँपालिका–३ माझखर्कका ५९ वर्ष चिनबहादुर शाही, उनका जेठो छोरा २६ वर्षीय दिपेन्द्रबहादुर शाही, १७ वर्षीय कान्छो छोरा, चिनबहादुरका भतिजाहरु २३ वर्षीय महेन्द्रबहादुर शाही, २२ वर्षीय रंगबहादुर शाही समेतले कुटपिट गरी घाइते बनाएका पीडित पक्षको आरोप छ ।

सामुहिक कुटपिटमा दाउरा, टर्च, ढुङगा, लात्ती मुङ्गाले प्रहार गरी शरिरको विभिन्न अंगहरू टाउको, आँखाहरू, निधार, छातीमा चोट लागेको र नाकको हड्डी भाँचिएकोले जिल्ला अस्पताल दैलेख सदरमुकाममा प्राथमिक उपचारपछि सुर्खेत पु¥याएर थप उपचार चलिरहेको बताइएको छ ।

पहिल्यैदेखि जातीय दम्भले शोषण, दमन गर्दै आएको ठकुरी परिवारले आफ्नो छोरा माथि पछिल्लो पटक सामुहिक कुटपिट गरेको सुरेन्द्रबा बुबा ७६ वर्षीय गंगाराम रावतले दुखेसो पोख्नुभयो । त्यति जघन्य तरिकाले कुटपिट गरेको घटनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएकोमा पनि उहाँको मन दुखाई छ ।

घटना बारे आरोपित चिनबहादुर शाहीलाई सम्पर्क गर्दा गाउँमा आफ्नो घरमा सानो होटल चलाएको त्यहाँ सुरेन्द्रले अत्याधिक मदिरा सेवन गरी किचकिच गरिरहेको अवस्थामा श्रीमति र छोरीले सम्झाउदा समेत नमानेपछि घर जाउ भनी धकेल्दा लडेर चोट लागेको बताउनुभयो ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार