दैलेख – तिहारको समयमा खाद्य बस्तुको गुणस्तर र बजार भाउ अवस्था जाँच्न जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख सदरमुकाममा खाद्य बजार अनुगमन गरेको छ । होटेल र खाद्यन्न पसलहरुको खाद्य बस्तुको गुणस्तर, सरसफाइ, दर्ता स्थिति, मूल्य सूची लगायतका अवस्थाहरुको मापदण्डहरूबारे निरीक्षण गरेको हो ।
अनुगमन टोलीको संयोजकत्व जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन अधिकृत गणेशविक्रम शाहले व्यवसायीहरूले दर्ता र अनुमति लिएको वाहेक अरु बस्तुहरुको कारोवार गरेको विषयमा केन्द्रित गरेको बताउनुभयो । अनुमति नलिई व्यापारीहरुले मदिराको समेत कारोकार गरेको पाइएको उहाँले जानकारी दिनभयो ।
खाद्य तथा खुद्रा व्यापारको अनुमति लिएका व्यापारीहरुले मदिराको कारोबार गर्न अन्तशुल्क विभागको अनुमति नलिई ठूलो परिमाणमा थोक विक्रेताको कारोकार गरिरहेका केही खाद्यन्न सप्लायर्सबाट २२३ पेटी सटासट, १२ पेटी एमबीसन, २ पेटी वियर र १० पेटी लिलि सटासट नामका करिब डेढ लाख रुपैंयाँ मूल्यका गुणस्तरहीन मदिरा जफत गरिएको बजार अनुगमन अधिकृत शाहले बताउनुभयो ।
जफत गरिएको उक्त मदिरा बारे थप कानूनी प्रक्रिया चलाउन अन्तशुल्क विभागमा समन्वय गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । बजार अगुगमन टोलीले फेला पारेका म्याद नाघेका मसला र खाद्यबस्तु जलाएको नारायण नगरपालिकाका शाखा अधिकृत खमबहादुर थापाले जानकारी दिनुभयो ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय दैलेखसँगै जिल्ला स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र नेपाल पत्रकार महासंघ दैलेखको प्रतिनिधित्व रहेको थियो । उपभोक्ता हित संरक्षण ऐन २०७५ ले स्थानीय तहलाई समेत अधिकार दिए पनि उनीहरुले बजार अनुगमनमा गरेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्