२०८२ मंसिर २३ , मंगलबार (2025 Dec 9, Tuesday)

प्रहरीलाई सुझाव चाहिएकाे छ : डीएसपी बराल



दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले शान्ति सुरक्षा प्रभावकारी बनाउन र नागरिक जिउधन सुरक्षामा नेपाल प्रहरी सधैं तल्लिन रहेको उल्लेख गर्दैै प्रहरीलाई रचनात्मक सुझाव दिन र आवश्यकता परेकाे बेला सहयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपाल प्रहरीको ७० औं स्थापना दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा उहाँले सुझावले प्रहरी सेवा प्रभावकारी हुने बताउदै गएको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन, २०५२ देखि १० वर्षे सशस्त्र युद्ध वा यस्तै हिंसात्मक विद्रोहको समयमा प्रहरीले जोखिमपूर्ण अवस्थामा पनि राज्यको उपस्थिति जनाएको चर्चा गनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका जिल्ला अध्यक्ष अमर सुनारले नागरिकहरु विना बर्दीको प्रहरी भएकोले शान्ति सुरक्षा प्रवद्र्धन, मानव अधिकार रक्षा र पीडितहरुको न्यायको निम्ति समुदायले पनि प्रहरीका कामलाई सघाउनुपर्ने बताउनुभयो भयो । उहाँले प्रहरीको कमीकमजोरी समयमा सुझाव दिन र राम्रो कामको प्रशंसा गरी राज्यशक्तिलाई बलियो बनाउन आग्रह गर्नुभयो ।

पूर्व प्रहरी संघका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले प्रहरी र नागरिकहरुको सहकार्यमा समाज शान्ति र अमनचैन कायम गर्न सकिने भएकोले समुदायले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको सन्देश समेत पाठ गरेर सुनाइएको थियो ।

त्यसबखत जिल्ला प्रहरी कार्यालय दैलेखमा उल्लेखनीय कार्य गर्नुभएका इन्स्पेक्टरद्वय लालबहादुर सुनार, सत्यनारायण चौधरी, बरिष्ठ सई श्याम अर्यालय, सहायक हवल्दारलाई जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले कदरपत्र प्रदान गर्नुभयो ।

असई भीमबहादुर कार्की, प्रहरी बरिष्ठ हवल्दारद्वय नरबहादुर बिष्ट, भूपेन्द्र खड्का, हवल्दार सन्तराम सारु, तीन जना प्रहरी सहायक हवल्दार रमेश बिक, चोकेन्द्र पुलामी, निर्मल बस्नेत, चार जना प्रहरी जवानहरु समीक्षा पाण्डे, अनमोल सोनी, लालबबहादुर कामी, रमेश सिंह र कार्यालय सहयोगी पूर्णप्रसाद पाण्डेलाई उत्कृष्ट प्रहरी कर्मचारी पुरस्कार दिइएको थियो ।

कर्तव्य निर्वाहको क्रममा विभिन्न समयमा बीरगति प्राप्त गर्नुभएका अमर प्रहरीका परिवाजनलाई सम्मान गरिएको थियो । यो वर्षको प्रहरी दिवसको नारा ‘नागरिक प्रहरी सहकार्य, सुरक्षाको लागि अपरिहार्य’ रहेको थियो । नेपाल प्रहरी ऐन २०१२ असोज ३१ गते जारी भएको अवसर पारेर असोज मसान्तका दिन प्रहरी दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार