२०८२ मंसिर २३ , मंगलबार (2025 Dec 9, Tuesday)
ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट

ओमानलाई पराजित गरेर नेपाल शिर्ष स्थान



ओमनमा चलिरहेको ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाएको थियो ।

सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको हो । यो पटक नेपाल तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको छ । सामाओसंग शुक्रबार हुने अन्तिम खेलमा जित्न सके १० अंक पुग्नेछ तर नेपालको आजको जितबाट ८ अंकले शिर्ष स्थानमा पुगको छ ।

आजको खेलमा सोमपाल कामीले ओमानका कप्तान जतिन्दर सिंहलाई तेस्रो ओभरमै आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । २ छक्का प्रहार गरेका जतिन्दरले ११ बलमा १४ रन बनाए । अर्को ओभरमा नन्दन यादवले अर्का ओपनर हमाद मिर्जालाई ४ रनमा आउट गरे ।

खेलमा अमिर कलिमलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा १ रनमा रनआउट गरे । दीपेन्द्रले लगातार पाँचौं खेलमा सिधा थ्रोमा रनआउट गरेका हुन् । आर्यन विष्टले २४ बल खेली ११ रन बनाए । सन्दीप लामिछानेको बलमा उनी बाउन्ड्री लाइनमा वैकल्पिक फिल्डर आरिफ शेखबाट समातिए ।

गुलशन झाले मोहम्मद नदिम र जितेन रामानन्दीलाई लगातार बलमा शून्यमा आउट गरे । मोहम्मद नदिमले ३१ बल खेली १ छक्का प्रहार गर्दै २५ रन बनाए । गुलशनले यसअघि नै नदिम खानलाई १ रनमा आउट गरेका थिए । विनायक शुक्लाले ओमानबाट सर्वाधिक ३२ रन बनाए । १९ बल खेली १ चौका र ३ छक्का प्रहार गरेका उनी सोमपालको बलमा आउट भए ।

सकिल अहमद ८ र साह फैजल ३ रन बनाई अविजित रहे । सुफियान मेहबुबले ९ रन बनाए । उनलाई नन्दनले आउट गरे ।गुलशनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । नन्दनले ४ ओभरमा १९ र सोमपालले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए । सन्दीपका नाममा १ विकेट रह्यो ।

याे खेलामा यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले पहिलो पटक १ सय ५० रनमाथिको स्कोर बनाएको हो ।

कुशल भूर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि नेपालको मध्यक्रमको ब्याटिङले पुनः निराश बनाउन पुग्यो । यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए । आसिफ २० बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाई नदिम खानको बलमा बोल्ड भए ।

नदिमले कप्तान रोहित पौडेललाई १ रनमा राउन्ड द लेगमा बोल्ड गरे । नदिमले उत्कृष्ट बलिङ गर्दै नेपालको माथिल्लो क्रमका चार विकेट लिने क्रममा दीपेन्द्रलाई २ र कुशल मल्ललाई ७ रनमा आउट गरे । यस प्रतियोगितामा पूर्ण असफल रहेका मल्लले आफ्नो इनिङ्सका क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए ।

भूर्तेलले ५१ बलमा ६९ रन बनाए । आदिल आलम अन्सारीले १५ बल खेली ३ चौका प्रहार गरी १६ रन बनाए । १८ औं ओभरमा एलबीडब्लू आउट भएका भूर्तेलले ७ चौका र १ छक्का प्रहार गरे । १९ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका गुलशन झाले १० बलमा १८ रन बनाए ।

खेलमा इनिङ्सको अन्तिम बलमा रनआउट भएका नन्दनले ४ बलमा ९ रन बनाए । सोमपाल १ रनमा अविजित रहे । ओमानका देव्रे हाते स्पिनर नदिमले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । सुफियानले ४ ओभरमा २९ र रामानन्दीले ४ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार