२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

द्वन्द्व पीडितसंग सामुदायिक छलफल 



दैलेख – राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले दैलेखमा सशस्त्र द्वन्द्वको समयका पीडितहरुसंग सामुदायिक छलफल गरेको छ । द्वन्द्व पीडितहरु, नागरिक समाज र पत्रकारहरुसंग सोमबार दैलेख सदरमुकाममा सामुदायिक छलफल कार्यक्रम गरिएको हो ।

राज्यपक्षबाट पीडित भद्रबहादुर सिंहले पीडित पक्षको लागि खास काम नभएको टिप्पणी गर्नुभयो । पूर्व जनमुक्ति सेनाका घाइते  ओमप्रसाद रेग्मीले भन्नुभयो हाम्रो त्यागबाट आएको परिवर्तनमा हाम्रै बेवास्ता छ । अर्की पीडित कृष्णा रानाले दुखेसो गर्नुभयो ‘हाम्रो लागि आयआर्जनका कार्यक्रम पनि छैनन् ।’

सशस्त्र द्वन्द्व पीडित कविता ढकालको आग्रह थियो राष्ट्रिय मानव अधिकार आयोगले गर्ने यस्ता कार्यक्रमहरु  ग्रामीण क्षेत्रमा हुनुपर्छ । त्यसैगरी द्वन्द्व पीडित घाइते पत्रकार नबिन रिजालले पत्रकारले लेखेर, पीडित प  र नागरिक समाजले घच्घच्याएर पनि राज्यले पीडितको भरणपोषणको लागि ध्यान नदिएको गुनासो गर्नुभयो ।

कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्माले सबै किसिमका कार्यक्रममा द्वन्द्व पीडितहरुलाई पहिलो प्राथमिकता राखेको बताउनुभयो । त्यसबखत राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका इञ्चार्ज रमेशकुमार थापाले पीडितको न्यायको निम्ति आयोग सधैं तत्पर रहेको प्रष्ट्याउनुभयो ।

सशस्त्र द्वन्द्वको समयमा दैलेखमा तत्कालिन सशस्त्र माओवादी पक्षबाट पत्रकार डेकेन्द्रराज थापा सहित ३९ जनाको हत्या भएको, राज्य पक्षबाट दुई सय ८९ जना माओवादी आस्थाका कारण मारिएको र सशस्त्र भीडन्त लगायतका घटनामा झण्डै ३६ जना सुरक्षाकर्मीको हत्या भएको थियो ।

द्वन्द्व पीडितहरु, नागरिक समाज र पत्रकारहरुसंग सामुदायिक छलफल कार्यक्रममा नागरिक समाज सरोकारवालाहरुले सशस्त्र द्वन्द्वको समयका पीडितहरुको न्याय र परिपूरणका लागि तीनै तहका सरकारहरु सम्वेदनशील हुनुपर्ने, बनेका नीति कार्यक्रमहरु कार्यान्वयन विषयमा बहस, पैरबी बारे छलफल भयो ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमबार