२०८३ भदौ २८ , आइतबार (2026 Sep 13, Sunday)

लागू औषध दुर्व्यसनी नियन्त्रणमा चासो



दैलेख – जिल्लाको सुरक्षा निकायहरुले शान्ति सुरक्षा प्रभावकारी बनाउन लागू औषध दुर्व्यसनी तथा ओसारपसार नियन्त्रणमा चासो लिएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले बुधबार आयोजना गरेको सरोकारवालाहरुसंग छलफल कार्यक्रममा यस्तो चिन्ता गरिएको हो ।

लागू औषध ओसारपसार, कारोबार, सेवनकर्ताहरु बढेकोले न्यूनीकरणमा जुट्न सहकार्यता बढाउन छलफल कार्यक्रम आयोजना गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । नागरिक समाज र समुदायको सहयोग जरुरी भएको उहाँले प्रष्ट्याउनुभयो ।

सरोकारवालाहरुसंगको छलफलपछि लागू औषध नियन्त्रणको कार्ययोजना बनाउने, निगरानी बढाउने, चेकजाँचलाई कडाई गर्नुसंगै शैक्षिक संस्था र समुदायमा सचेतना अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । लागू औषध नियन्त्रण गर्न ५ बुदे निर्णय गरिएको छ ।

दैलेखका प्रहरी प्रमुख गणेशबहादुर बराल, गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर थापा, औषधि व्यवसायी संघका प्रदेश सदस्य रामबहादुर थापा लगायतका सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार