२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

प्रमुख दलहरु प्रदर्शनको तयारीमा



दैलेख – संवैधानिक प्रक्रिया विपरित प्रतिनिधिसभा विघटन गरिएको भन्दै दैलेखका प्रमुख राजनीतिक दलहरु संविधान दिवसको दिन प्रदर्शन गर्ने भएका छन् । दैलेख सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा संधिवानको रक्षा निम्ति असाेज ३ गते प्रदर्शन गर्न लागिएको बताइएको छ ।

नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मी, एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाही, नेकपा माओवादी केन्द्रका कर्णाली सदस्य भेषराज थापा, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मायारा अधिकारी, नेमकिपाका जिल्ला सदस्य रत्नेश श्रेष्ठद्वारा जारी एक विज्ञप्ती मार्फत प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरिएको छ ।

त्यसबखत नेपाली काँग्रेसका जिल्ला सभापति रेग्मीले संविधान पालना हुनुपर्ने तात्कालिक परिस्थिति उल्लेख गर्दै यसको संशोधन र राजनीतिक नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व सवालमा सुधार आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपक एमालेका जिल्ला अध्यक्ष शाहीले जेनजी पुस्ताको माग सही भए पनि सामाजिक सञ्जाल व्यवस्थित गरिनुपर्ने केपी ओली सरकारको वाध्यता रहेको विश्लेष्ण गर्नुभयो ।

नेपाल मजदूर किसान पार्टीका जिल्ला सदस्य रत्नेश श्रेष्ठले भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा विभिन्न स्वार्थ समूहको घुसपैठले उछृंखलता र हिंसा भड्काएको आरोप लगाउनुयभयो । नेकपा एसका जिल्ला अध्यक्ष मायाराम अधिधकारीले लोतान्त्रिक व्यवस्थालाई जोगाउन संविधानको पालना हुनुपर्ने, दलहरुले गल्तीबाट पाठ सिकेर सचिन नसके देश अझैं गम्भीर समस्यामा पर्ने औंल्याउनुभयो ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य भेषराज थापाले राजनीतिक दलका माथिल्लो नेतृत्वको अहंकार, तानासाही प्रवृति र देशमा व्याप्त युवा बेरोजगारी, अभाव र अत्याचारको विरुद्ध युवा पङ्ति विद्रोहमा उत्रेको व्याख्या गर्नुभयो । पत्रकार सम्मेलनमा राजनीतिक दलहरुको अक्रमण्यता, भ्रष्टाचार, ढिलासुस्ती र अन्यायको रोकथाममा दलहरुको प्रतिवद्धता विषयमा पत्रकारहरुले प्रश्न गरेका थिए ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार