२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

लगानी अनुसार विकास भएन : राज्यमन्त्री बिक



दैलेख – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तता सहरी विकास राज्यमन्त्री गमता बिकले सरकारको लगानी जति विकास हुन नसकेको बताउनुभएको छ । जिल्ला समन्वय समितिले दैलेखमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै ृउहाँले भन्नुभयो पहिले भन्दा केही भएकै छ तर जति लगानी भएको छ, अपेक्षाकृत विकास भएको छैन ।

राज्यमन्त्री बिकले ठेकेदारले गरेको काम समय लम्व्याउने, खर्च बढाउने र गुणस्तर खस्केको छ । उपभोक्ता समितिले गर्ने काममा पनि मुनाफा खोज्ने प्रबृतिले केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेको लगानी प्रतिफल अझै आएको छैन । यसको लागि जनप्रतिनिधि, कर्मचारीहरुको इमान्दारिता र सचेत नागरिकहरुको खबरदारी बढाउनुपर्ने सुझाव दिनुभयो ।

कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले वार्षिक समीक्षा कार्यक्रममा सुनाइएको क्रियाकलापहरु समुदायमा कति परिणाममुखी भए, आयोजनाहरु कस्ता छन् ? सीप इलम सिकाइएकाहरुले व्यवसाय चलाएका छन् कि छैनन् ? प्रतिफल परीक्षण र मूल्यांकन गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले विकास कार्यक्रममा पारदर्शिता र जवाफदेहिताले जनश्रम जुटाउन तथा अपनत्व अभिबृद्धि गर्ने बताउनुभयो । उहाँले जनश्रम जुटाउन तथा अपनत्व अभिबृद्धि गर्न तीनै तहका सरकारहरुले सुशासन अभिवृद्धिमा अझैं ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको वार्षिक समीक्षा कार्यक्रममा उपप्रमुख केशवबहादुर शाहीले स्वागत र जिल्ला समन्वय अधिकारी टेकबहादुर ओलीले जिससले प्रगति जानकारी गराउनुभएको थिथयो । कार्यक्रममा दैलेखका ११ स्थानीय तह र सरकारी कार्यालयहरुले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ अवधिमा गरेका विकास कार्यक्रमहरुको प्रस्तूतीसंगै सिकाई, चुनौती र समस्या समाधानका उपाय बारे छलफल भएकाे थियाे ।

लिसाकाे सम्मान ग्रहण गर्दै नारायण नगरपालिकाका मेयर लाेमन शर्मा 

त्यसबखत अघिल्लो आर्थिक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेकाे स्थानीय तह संस्थागत स्वमूल्यांकन (लिसा)मा कर्णाली प्रदेशकै उत्कृष्ट नारायण नगरपालिका, जिल्लाका गाउँपालिकाहरुमा उत्कृष्ट स्थानीय लिएको महाबु गाउँपालिकालाई खादा पहिर्‍याएर सम्मानपत्र दिइएको थियो ।

त्यसैगरी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) तथा स्थानीय तह आर्थिक विकास मूल्यांकन (एलईडी)मा दैलेखको प्रथम दुल्लू नगरपालिका र भगवतीमाई गाउँपालिकालाई दुई विषयमा उत्कृष्टता सम्मानपत्र दिइएको जिससका शाखा अधिकृत रामबहादुर बुढाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार