
काठमाण्डौं – टप इन्ड टी–२० शृङ्खलामा पाकिस्तान शाहीन्सले नेपाललाई १ सय ४५ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियामा चलिरहेको प्रतियोगितामा नेपालको यो अन्तिम खेल हो ।
टस जितेर ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनायो । पाकिस्तान शाहीन्सका इरफान खानले नटआउट ४२ रन बनाए । नेपालका सोमपाल कामीले ३, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २÷२ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
शुरूका लगातार ३ खेलमा हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई हराएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो । प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ वटा खेल खेल्नेछन् ।
टप इन्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्