२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

चामुण्डाबिन्द्रासैनी अभिमुखीकण, पहिलो चरण अनुगमन हुँदै



दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिकामा कोभिड विरुद्धको फाइजर खोप बारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको छ । यूएसएआईडी/एफएचआई ३६० इपिक नेपाल परियोजनाको सहयोगमा स्वास्थ्य सेवा कार्यालयले दैलेखको समन्वयमा कार्यक्रम गरिएको हो ।

कोभिड १९ को प्रभाव बढ्न थालेको बेला सचेतना अभिवृद्धिको आवश्यकता विषयमा स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मी र एफएचआई ३६० इपिक नेपाल परियोजनाका कार्यक्रम व्यवस्थापक विशेषज्ञ प्रदीपकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेश शाहीले बित्तीय समानीकरणको बजेटबाट अस्थायी कर्मचारीको तलव खुवाइएको विषयमा महालेखा परीक्षण कार्यालयले बेरुजु देखाएको कारण नगरपालिकाले बाध्यतावस ७१ जना कर्मचारीको म्याद थप नगरेको विषय नगरपालिकाको काम प्रभावित भएको स्वीकार्नुभयो ।

मातृ तथा शिशु स्वास्थ्यका लागि नियमित कार्यक्रम जस्तै संकटमा पनि कहिल्यै नरोकिएको उल्लेख गर्दै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानकुमारी शाहीले कोभिड खोप पनि सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले उपलब्ध स्वास्थ्यकर्मीको सहयोगमा खोप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखले पहिलो चरणमा कात्तिक ५ गते गुराँस, डुंगेश्वर, भगवतीमाई र ठाँटीकाँध गाउँपालिकासंगै चामुण्डाबिन्द्रासैनी, दुल्लू र आठबीस नगरपालिकाका हरेक वडामा एक–एक वटा खोप केन्द्रमा खोप अभियान कार्यक्रम तय गरेको छ ।

त्यसैगरी ११ गते दैलेखको नौमूले, महाबु, भैरबी गाउँपालिका र नारायण नगरपालिकाका सबै वडामा कोभिड विरुद्धको फाइजर खोप दिइने कार्यक्रम रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख डा. रत्नबीर सुनारले जानकारी दिनुभयो ।

कोभिड १९ रोगको अवस्था बिश्लेषण र अभियानका प्रभावकारिता विषयमा पहिलो चरणमा कात्तिक ५ गते गरिन लागेको खोप कार्यक्रममा नागरिक सहभागिता अवस्था बारे एफएचआई ३६० इपिक नेपाल परियोजना र स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय दैलेखले अनुगमन गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार