२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

‘नाचम बरिलै’ तीज गीत सार्वजनिक (भिडियोसहित)



लाेकेन्द्र पाैडेल – 

सुर्खेत – हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा मौलिक भाका र चेलीे मनोभावनालाई समेटेर तीज गीतहरु आइरहेका छन् । सर्जक तथा गीतकार प्रेम संगमले लेख्नुभएको ‘नाचम बरिलै’ बोलको अडियो भिडियो सहितको तीज गीत सार्वजनिक भएको छ । गीत शुक्रबार प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

प्रेम संगम कै शब्द रचना, लय राजकुुमार बगर र संगीत संयोजन रमेश सेन्चुरी र रचना रिमालले आफ्नो सुमधुर स्वर दिनुभएको छ । ‘नाचम बरिलै’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा कर्णाली प्रदेशकै एक कोहिनुर हिरो वरिष्ठ कलाकार प्रेमदेब गिरी, राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष हरिमाया कार्की, नवनायक लक्ष्मण लामिछाने मार्मिक अभिनय गर्नुभएको छ । छायांकन, सम्पादन तथा रंग संयोजन निर्मल प्याकुरेलको रहेको छ ।

चर्चित मोडल लक्ष्मी गिरीले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको छ । भिडियोको निर्देशन राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान सुर्खेत जिल्लाका अध्यक्ष चन्द्रबहादुर मन्दिरले गर्नुभएको हो । उत्पादन कसपा एण्ड कृतिका प्रोडक्सन र श्रीनाथ फिल्मस् सुर्खेतले गरेको हो । यो ब्यानरबार हालसम्म तीन सय भन्दा बढी भिडियोहरु सार्वजनिक भइसकेका छन् ।

‘नाचम बरिलै’ तीज गीतले माइतीप्रतिको आत्मीयता, समाजमा चेलीको स्थान र तीजको वास्तविक मर्म उजागर गर्न खोजिएको साथै चेलीको भावनात्मक अवस्था र तीजको सांस्कृतिक सन्दर्भलाई कलात्मक ढंगले प्रस्तूत गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार