२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

लाखे नाँच जोगाउदै युवा क्लवहरु



लाखे नाँच । फाेटाे साैजन्य : राजविक्रम शाही

दैलेख – लोप हुँदै गएको लाखे नाँच संस्कृति जोगाउन दैलेखका युवा क्लवहरु कस्सिएका छन् । मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाँच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा क्लवहरु कस्सिएका हुन् ।

नेवार समुदायमा प्रचलित लाखे नाँच आधुनिकताको मारमा परी लोप हुन थालेपछि दैलेखका एभरेष्ट क्लव, न्यू ज्वाला क्लव, भगवती युवा क्लवले कला साँस्कृति जोगाउन सक्रिय भएर लागेका छन् । बुधबार साउन कृष्णपक्षीय चतुर्दशी गथांमुगका अर्थात घण्टाकर्णदेखि लाखे नाँच सुरु भएको छ ।

मुखमा मुकुण्डो लगाएर लाखे र अर्को भुच्चा भएर नाचिने यो नाँचमा लाखेले पछाडिपट्टि चौरी गाईको चमर र महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् ।

घण्टाकर्णदेखि सुरु भई कृष्ण जन्माष्टमीसम्म हरेक दिन अपरान्ह तीन घण्टा लाखे नाँच देखाइन्छ । काठमाडौँ र नेवार बस्ती भएका सबैतिर लाखे नाँच देखाउने क्रममा अहिले अरु जाति समुदायले निरन्तरता दिएका दिएका छन् । एक महिने लाखे नाँचलाई वर्षे मेला भन्ने गरिएको छ ।

वर्षे मेलाको पहिलो दिन साउन कृष्णपक्षीय चतुर्दशी गथांमुगका विहान गाँठे मंगलको नाममा यातायात अवरोध गर्ने, सर्वसाधारणलाई बाटो छेकेर रुपैंयाँ माग्ने, रुपैंयाँ नहुने वा नदिने व्यक्तिलाई सिस्ने लगाउने गर्ने बिकृतिको सर्वसाधारणले असन्तुष्टी व्यक्त गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार