२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

दैलेखमा सर्प दंश बढ्यो



दैलेख – वर्षायाम सुरू भएसंगै याे वर्ष दैलेखमा सर्प दंशमा घटनाहरु बढेका छन् । आज मात्र सर्पको टोकाईबाट घाइते भएका नारायण नगरपालिका–११ जुफियाँकी ६० वर्षीया मानकुमारी चन्द र नारायण नगरपालिका–८ सिमाडाका १९ वर्षीय लक्ष्मण रावलको दैलेख अस्पतालमा उपचार भइरहेको छ ।

हेमाटोटस्सिक प्रकृतिको सर्पको टोकाईबाट घाइते मानकुमारीको रगत बग्न नरोकिएको कारण उत्तम उपचारका लागि सुर्खेतबाट ४ पोका प्लाज्म रगत झिकाइएको दैलेख अस्पतालका इञ्चार्ज डा. मनोज बिश्वकर्माले पहरेदारलाई बताउनुभयो । रावलको उपचार चलिरहेको उहाँले जानकारी दिनुभयो ।

असार २५ गते सर्पको टोकाईबाट बेहोस भएकी अछामको तुर्माखाँद गाउँपालिका–१ रहप गाउँकी ९ वर्षीय बालिका चन्द्रिका रावलको दैलेख अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली प्रदेश अस्पताल पु¥याइएकोमा उपचारको क्रममा असार २८ गते ज्यान गएको थियो ।

सर्प दंशबाट कसरी बच्ने ?
अँध्यारोमा हिँड्दा टर्च लिएर हिँड्ने, खाली खुट्टा नहिँड्ने, भुइँमा नसुत्ने, झुल लगाएर मात्र सुत्ने, सुत्नुअघि ओछ्यान राम्रोसँग जाँचेर सुत्ने, घर वरपर सरसफाइ गर्न जरुरी हुन्छ । सर्पले टोकी हालेमा झारफुक गर्ने अन्धविश्वासमा समय खर्च गर्नै हुँदैन । छिटो छरितो अस्पताल पुगे ज्यान जोगाउन सकिन्छ ।

करिब २० प्रतिशत सर्प मात्र विषालु हुने भएको सर्पकोले टोकेका मान्छेहरु बाँच्ने सम्भावना ८० प्रतिशत हुने भएकोले कस्तो सर्पले टाेकेकाे हाे भनी जानकारी लिई आएमा चिकित्सकहरुलाई उपचार थाल्न सजिलो पर्ने भेरी अस्पताल नेपालगञ्जका डा. कृष्णप्रसाद आचार्यले बताउनुभयाे । सर्पले टोक्ने बित्तिकै विष प्रवाह गर्ने सम्भावना ५० प्रतिशत मात्र हुने डा. आचार्यको भनाई छ ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार