२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

लागू औषध र आत्महत्या मुख्य समस्या



दैलेख – पछिल्लो समयमा शान्ति सुरक्षा प्रभावकारी बनाउने काममा लागू औषध दुव्र्यवसनी र आत्महत्या मुख्य समस्या रहेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आज दैलेख सदरमुकाममा आयोजना गरेको पत्रकारसंग छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

‘अघिल्लो आर्थिक वर्षमा कुल २ सय १८ वटा अपराध घटना मध्ये ४४ जनाले झुण्डिएर र ३ जनाले विष सेवन गरी ज्यान हालेका समेत ४७ जनाले आत्महत्या गरेका छन्, आत्महत्या रोकथाममा प्रभावकारी सचेतना आवश्यक भएको छ’ दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताउनुभयो ।

आत्महत्या गर्नेहरुको उमेर समूह विश्लेषण गर्दा १६ वर्ष मुनिका ५ जना, १६–२५ वर्षका १८ जना, २५–४५ वर्षका ५ जना, ४५–६० वर्षका १५ जना र ६० वर्ष नाघेका ५ जना छन् । जातिगत हिसावले दलित १९, क्षेत्री १६, जनजाति ९ र ब्राम्हण ४ ले आत्महत्या गरेका छन् । मृतकहरुको संख्यालाई लैंगिकता केलाउँदा महिला २५ र पुरुष २२ छन् ।

प्रहरीले दिएको विवरण अनुसार अघिल्ला दुई वर्षको तुलनामा आर्थिक वर्ष २०८१/०८२ अवधिमा लागू औषध तेब्बर बढेको छ । अघिल्ला दुई वर्षमा ४–४ वटा मुद्दा चलेकोमा ६–६ जना पक्राउ परेका थिए भने आर्थिक वर्ष २०८१/०८२ मा चाहिं ११ वटा मुद्दा चलेकामा १९ पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले आत्महत्या ४७, बलात्कार घटना २५, लागू औषध ११, सवारी दुर्घटना ९, व्यक्ति हत्या ७, ज्यानमार्ने उद्योग ७, आत्महत्या दुरुत्साहन ६, हातहतियार २ र ठगी घटनाका २ समेत २ सय १८ वटा मुद्दा चलेका पहरेदारलाई जानकारी दिनुभयो ।

अपराध नियन्त्रणमा सामाजिक सहकार्यता बढाउन दैलेख प्रहरीले आफ्ना २५ वटा इकाई मार्फत आर्थिक वर्ष २०८१/०८२ अवधिमा ५ सय ६१ सामुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम, ३ सय ५१ जनाको प्रहरी बुझ्ने र सिफारिस सेवा, विपद परेका १ सय २७ जनालाई उद्धार सहयोग गरेको थियो ।

दैलेख प्रहरीका २५ वटा इकाईहरुमा कुल ६ सय २५ ठाडो उजुरी परेकोमा ५ सय ६२ मिलापत्र भएका, २० जना सम्पर्कमा नआएका, ३७ वटा सम्वन्धित निकायमा पठाइएको र ६ वटा छलफलकै चरणमा रहेका विवरण दिइएको छ । अघिल्लो आर्थिक वर्षमा चट्टयाङ्गले ३ जना, पहिरोमा पुरिएर २ जना र आगलागीमा परेर १ जनाको मृत्यूभएको विवरण दिइएको छ ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार