२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

शिशु चाेरेर हैरानी दिनेलाई तीन वर्ष कैद !



दैलेख – २८ दिनकाे नवजात शिशु चाेरेर हैरानी दिएकी १६ वर्षीय बालिकालाई दैलेख जिल्ला अदालतले ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रूपैंयाँ जरिवाना सजाय गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट आज उक्त सजाय भएको हाे ।

अपहरण तथा शरीर बन्धक कसूरमा ३ वर्ष कैद र ३० हजार तथा आपराधिक उपद्राे कसूरमा कसूरमा २ वर्ष कैद र २० हजार समेत  ५ वर्ष कैद र ५० हजार रूपैंयाँ एकीकृत सजाय भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी नासु हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयाे ।

एकीकृत सजाय बाल न्याय प्रणाली अनुसार बिज्याईकर्ता  बालबालिकाले कसूरदारकाे उमेर अनुसार पाउने एक तिहाई मिनाह भई कसूरमा ३ वर्ष ४ महिना कैद र ३३ हजार तीन सय ३३ रुपैंयाँ जरिवाना कायम भएको अदालतका सूचना अधिकारी उपाध्यायले बताउनुभयो ।

गएको चैत २८ गते छिमेकी गाउँमा परालको टौवामा आगो लगाएर ध्यान खिचेर शिशु सुताएकाे ठाउँबाट चाेरेर हैरानी पारेकाे विषयमा पीडित पक्षले चैत ३१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकाे थियाे ।

ठाटीकाँध गाउँपालिका–१ सिलाडीका स्थानीय बमबहादुर बुढाकी  २८ दिनकी छोरी श्रीया बुढा चाेरिएकाे भाेलिपल्ट चैत २९ गते विहान जंगलमा लुकी बसेकाे अवस्थामा छिमेकी गाउँ चामुण्डामा फेला पारिएको थियाे ।

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय दैलेखले वैशाख १९ गते अभियाग दर्ता भएको र थुनछेक बहसपछि जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाइएको थियाे ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार