२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

आफू भएकै ठाउँबाट स्वास्थ्य बीमा सेवा



काठमाण्डाैं – स्वास्थ्य बीमा गरेका बीमितहरूले अाफू भएकै नजिककाे स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने व्यवस्था भाेलि साउन १ गतेदेखि लागू गरेको छ । अहिलेसम्म तोकिएको एउटै प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने बाध्यता छ  ।

भाेलि साउन १ गतेदेखि बीमितहरूले देशभर बोर्डमा आबद्ध जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्नेछन् । यसले विशेषगरी आफू बसोबास गरेको ठाउँबाट वा परिवहनकाे रूपमा जहाँ पुगेकाे छ त्यहीबाट उपचार सेवा पाउन सहज हुनेछ ।

सरकारले सङ्घ, प्रदेश र पालिकामा सरकारी स्वास्थ्य संस्थाहरूको सङ्ख्या बढेसँगै सार्वजनिक संस्थालाई प्राथमिकता दिने नीतिगत निर्णयका रूपमा लिएको छ । अब निजी अस्पतालहरूले रेफर गरिएका बीमितहरूलाई मात्र सेवा दिनेछन् ।

आकस्मिक सेवाबाहेक विशिष्टीकृत उपचारका लागि पहिलेको जस्तै रेफर आवश्यक पर्नेछ । स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन गरी यो व्यवस्था गरिएको हो ।

देशभर ७७ जिल्लाका ७ सय ४९ पालिकामा झन्डै ३२ लाख परिवार बीमा कार्यक्रममा आबद्ध भए पनि देशको जम्मा ३१ प्रतिशत नागरिकमात्र सहभागी छन् । तीमध्ये नियमित नवीकरण गर्नेहरूकाे संख्या २१ प्रतिशतमा मात्र छ ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार