२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

झैझगडा गाऊँमै मिलाऊँ



दैलेख – उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराईले स्थानीय तहको न्यायिक समितिलाई तोकिएको क्षेत्राधिकारको कामहरु प्रभावकारी रुपमा सम्पादन गर्न सके ससाना झैझडा गाउँसमाजमै मिल्न सक्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको मेलमिलाप केन्द्र संयोजक न्यायाधीश भट्टराईले नारायण नगरपालिकाको न्यायिक समितिको अनुगमन गर्दै सो विचार राख्नुभएको हो । नारायण नगरपालिकामा परेका १२ वटा मुद्दा मध्ये ७ वटा मेलमिलाप भएको अभिलेखमा देखिएकोबाट आफूलाई खुशी लागेको बताउनुभयो ।

दैलेख जिल्ला अदालतमा मेलमिलापमा पठाइएका एक सय पाँच वटा मुद्दा मध्ये १० वटा मेलमिलाप भएका दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । मेलमिलाप सम्वन्धी ऐन २०६८ ले देवानी मुद्दानी मुद्दाहरुमा मेलमिलापको प्रयास सफल हुन नसके मात्र इजलासबाट फैसला गर्ने कानूनी व्यवस्था छ ।

नारायण नगरपालिका र दैलेख जिल्ला अदालतका मेलमिलापकर्ताहरुसंग छलफल गरी मेलमिलाप केन्द्रमा आएका मुद्दाहरुमा छलफल पद्धति, समस्या र समाधानका उपाय बारे न्यायाधीश भट्टराईले विचार विमर्श गर्नुभएको थियो । त्यसबखत नारायण नगरपालिकाकाे इजलास न्यायिक समितिका संयाेजक र सदस्यहरूकाे एकै प्रकार कुर्ची राख्न उहाँले सुझाव दिनुभएकाे छ ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार