
दैलेख – जिल्ला सदरमुकामलाई खानेपानी आपूर्ति गरिरहेको नारायण खानेपानी उपभोक्ता समितिले आज बुधबार साँझ धाराधारामा पानी झर्ने बताएको छ । दसरते नजिक नेपानेपिथे भीरमा पहिरोले पाइप बगाएको ठाउँ मंगलबार मर्मत सकिएपछि रातिदेखि सदरमुकामस्थित रिजर्व ट्याँकीमा पानी जम्मा भइरहको र बुधबार साँझ नियमित समयमा पानी खोलिने नारायण खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख इञ्जिनियर राजन खड्काले जानकारी दिनुभयो ।
दैलेख कालिकोट हुँदै मुगु हुम्ला जोड्ने प्रस्तावित त्रिदेशीय मार्गकाे सडक चौडा गर्ने क्रममा खनिएको भित्ताहरुमा ठाउँठाउँमा पहिरो भएर दुई वर्षदेखि पटक पटक खानेपानी आपूर्तिमा अवरोध हुने गरेको छ । ५० वर्ष पहिले १८ किलोमीटर टाढा भवानीको कालेखोलाबाट ल्याइएको पानीले नपुग भएपछि दश वर्षदेखि ३५ किलोमीटर टाढा बालुबाटारको सहारे मुहान थप पानी आएको पानीले दैलेख सदरमुकामको १० हजार जनसंख्यालाई खानेपानी पुर्याइएको छ ।
एक साता खानेपानी आपूर्तिमा अवरोध भएपछि सेना, प्रहरी, सशस्त्र प्रहरीको व्यारेक, डेढ सय भन्दा बढी थुनुवाहरु रहेको दैलेख कारागार, दैनिक एक सय जति बिरामीलाई आवासीय उपचार पुर्याइरहेको दैलेख अस्पालमा खानेपानी र सरसफाईमा समस्या परेको थियो । सदरमुकामका स्थानीय बासिन्दाहरुले पानीको आपूर्ति अवरोध भएको बेला बजार नजिकका मुहानहरुमा पुगेर खानेपानी ल्याउने गर्दछन् । दुई सय भन्दा बढी होटल भए पनि १०-१५ वटा ठूला होटलहरुले ट्याँकरमा बोकेर पानी ल्याउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्