
काठमाण्डौं – अत्यधिक रक्तश्रावले भएर काठमाण्डौंको सुविधा सम्पन्न अस्पतालमा सुत्केरी महिलाको मृत्यू भएको छ । हिजो विहान ४ बजेतिर तेश्रो सन्तान छोरीलाई जन्म दिएको १४ घण्टापछि दैलेखको नारायण नगरपालिका–२ जाहारकोटकी ३३ वर्षीया लक्ष्मी नेपालीको सिभिल हस्पिटलमा मृत्यू भएको हो ।
सुत्केरीपछि लगातार रगत बग्न थालेपछि तीन पोका रगत दिइएको तर अपरान्ह ६ बजेतिर मृत्यू भएको दैलेखी सेवा समाज काठमाण्डौंका अध्यक्ष प्रताप शाहीले बताउनुभयो । पहिले २ वटा छोरापछि यो पटक तेश्रो सन्तान छोरी जन्मँदा उहाँको मृत्यू भएको हो । नवजात शिशु स्वस्थ रहेका बताइएको छ ।
सुविधायुक्त अस्पतालमा बच्चा जन्माउन लक्ष्मी दैलेखबाट काठमाण्डौंमा पुग्नुभएको थियो । स्वास्थ्य सेवा कार्यालय दैलेखका लेखा अधिकृत दिपक नेपालीकी धर्मपत्नी लक्ष्मीलाई सुत्केरी गराउन निजामती कर्मचारीको परिवारको नाताले सिभिल हस्पिटल छनौट गरिएको थियो ।
पहिलो सन्तान सामान्य अवस्थामा जन्मेका र दोश्रो छोरा जन्मँदा कठिनाई भएको कारण सुविधायुक्त अस्पतालको खोजीमा सभिल हस्पिटल छनौट गरिएको थियो । रक्तश्राव रोक्न पाठेघरको अप्रेसन गर्न लाग्दा मृत्यू भएको भन्ने सूचना आएकोले परिवारजनले शव उठाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्