२०८२ असार १५ , आइतबार (2025 Jun 29, Sunday)

लागू औषध दुर्व्यसनी रोक्न सप्ताहव्यापी अभियान



दैलेख – लागू औषध दुर्व्यसनी रोकथाम गर्न दैलेखमा सप्ताह व्यापी अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा दैलेखमा सोमबार बसेको सरोकारवालाहरुको बैठकले असार ६ गतेदेखि असार १२ गते लागू औषध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस दिनसम्म सप्ताहव्यापी सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सप्ताहव्यापी अभियानको पहिलो दिन असार ६ गते सचेतना कार्यक्रम, ७ गते रेडियो सम्वाद, असार ८ गते दैलेखका सबै पालिका स्तरीय र ९ गते जिल्ला सदरमुकाममा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, १० गते होटल व्यवसायी र औषधि व्यवसायीहरुसंग लागू औषध रोकथाम अन्तरक्रिया कार्यक्रम गर्ने, ११ गते गते सडक नाटक प्रदर्शन गर्ने र १२ गते सचेतना र्‍याली गर्ने निर्णय भएको छ ।

पालिका र जिल्लामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि ‘लागू औषध तथा दुर्व्यसनी मुक्त समाज निर्माणमा युवा र समाजको भूमिका’ विषय तोकिएको छ । असार ८ गते पालिका स्तरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरुबीच भोलिपल्ट असार ९ गते जिल्ला सदरमुकाम दैलेख बजारमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने कार्यसूची छ ।

गाँजा, अफिम, कोकाको झार र पात मिलाई तयार पारेको प्राकृतिक पदार्थ वा नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन, नोर्फिन, कोडिन, कोरेक्स लगायतका कृत्रिम लागू पदार्थलाई लागू औषध नियन्त्रण ऐन २०३३ ले बर्जित गरेको छ । ऐन अनुसार लागू औषध सेवन र ओसारपसारकर्तालाई फौजदारी मुद्दा चलाउने गरिएको छ ।

शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु औषध भनिन्छ । यातायातको पहुँच र सहरी विकाससंगै लागू औषध दुर्व्यसनी ग्रामीण क्षेत्रमा समेत बढ्दै गरेको छ । रोकथामका लागि सचेतना जगाउन हरेक वर्ष जुन २६ तारिकमा लागू औषध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस मनाउने गरिन्छ ।

पूर्व तयारी बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बराल, सशस्त्र प्रहरीका इञ्चार्ज डीएसपी चन्द्रबहादुर खत्री, स्वास्थ्य कार्यालयका प्रमुख डा. मनाेज बिश्वकर्मा, नारायण नपाका याेजना अधिकृत पदम सापकाेटा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, दैलेख उबासंघका अध्यक्ष नरेन्द्रबहादुर थापा, साेसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा लगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : २०८२ असार ३ गते मंगलबार