२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

भरुवा बन्दुक पड्केर एकको मृत्यू



दैलेख – सिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्केर दैलेखमा एक जनाको मृत्यू भएको छ । गएराति जंगली जनावरको सिकारबाट घर फर्किने क्रममा ओरालो बाटो झरिरहेको बेला चिप्लिएको साथीको बन्दुक पड्किँदा पछिल्लतिरको साथीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

महाबु गाउँपालिका–४ बतासेस्थित आफ्नो गाउँबस्तीमा पुग्नै लागेको बेला अघिल्तिरको साथी ३० वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिँदा बन्दुक पड्किएर पछिल्तिरको साथी पूर्णबहादुर थापा बलामीको छातिमा छर्रा लागेर घटनास्थमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो ।

लेकाली जंगलमा सिकार गर्न गएका ६ जना मध्ये तीन जना माथिल्लो बस्ती पिपलडाँडा गाउँको आआफ्नो घरमा रोकिएका र बतासे गाउँका तीन जना घर पुग्न आधा किलोमीटर मात्र बाँकी रहँदा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिकार नलागेर रित्तै फर्किएका बुझिएको छ ।

सूर्यबहादुर चिप्लिँदा पड्किएको बन्दुकको गोलीले पूर्णबहादुर थापाको छातिको अघिल्ला भागबाट ढाड छेडेको छ । घटनाका प्रत्यक्षदर्शी ओमबहादुर बलामीसंग प्रहरीले थप सोधपुछ सुरु गरेको छ । मृतकको झोलामा हिजो दिउँसो गाउँमा काटेको बाख्राको मासु र माछा पनि फेला परेको विहान घटनास्थल पुगेकाहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार