
दैलेख – भूमिहीन दलितहरुलाई पहिलो प्राथमिकतामा जग्गा दिलाउन सरोकारवालाहरुले भूमि समस्या समाधान आयोगलाई आग्रह गरेका छन् । भूमि समस्या समाधान आयोग दैलेखले जिल्लाका १० पालिकापछि जिल्ला सदरमुकामको नारायण नगरपालिकामा बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् । सरकार बदलिएसंगै पटक पटक आयोग गठन हुने तर भूमिहीनहरुलाई जग्गा पाउने विषय अन्यौलता छाएको सहभागीहरुले टिप्पणी गरेका छन् ।
नारायण नगरपालिकाका मेयर लोमन शर्माले अरु पालिकाको तुलनामा नारायण नगरपालिकाले भूमिहीनहरुको लगत लिने र अभिलेख प्रविष्ट समेत गरिसकेकोले छिटो भन्दा छिटो भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने काममा आफूहरु जुट्न बताउनुभयो । भूमि समस्या समाधान आयोग दैलेखका अध्यक्ष बरुनाथ योगी, विज्ञ सदस्य भूपेन्द शाही, आयोगका जिल्ला सदस्य दीपक बिक र सीताकुमारी सिंह समेतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
भूमि समस्या समाधान आयोग दैलेखले हालसम्म गरिरहेका कार्यक्रम, तथ्यांक संकलनको काम र सम्पादित विवरणहरुको अवस्था बारे आयोगका सदस्य सचिव नापी कार्यालयका कार्यालय प्रमुख किरण न्यौपानेले प्रकाश पार्नुभएको थियो । त्यसबखत भूमिहीनहरुलाई जग्गा दिलाउने विकल्प, अव्यवस्थित बसोवासीहरुको समस्या र जग्गा दर्ता छुट, एउटा कमाएको तर अर्कैको नाममा रहेको जग्गा प्राप्त लगायतका समस्या विषयमा उठेका प्रश्नहरुको विषयमा न्यौपानले जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्