२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

राउटे युवतीलाई याैन दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ



दैलेख – गुडिरहेको ट्रकमा यात्रारत राउटे समुदायका युवतीहरूलाई याैन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि दैलेखको आठबीस नगरपालिका–३ टुनिबगरका २८ वर्षीय टोपेन्द्र शाही फन्दा परेका छन् ।

राउटे समुदायका युवतीहरूलाई याैन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा नागरिक समाजकाे उजुरी आएपछि टोपेन्द्र शाहीलाई आज घरबाटै पक्राउ गरी सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक देवीराम भण्डारीले बताउनुभयाे ।

‘घर्ती जगत’ नामका फेसबुक प्रयोगकर्ताले १५ सेकेण्डको भिडियो चार दिनअघि सार्वजनिक भएपछि अधिकारकर्मीहरुले उजुरी गरेपछि टोपेन्द्रलाई दैलेख प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।

गुडिरहेको ट्रकमा यात्रारत राउटे समुदायका चार जना राउटे युवतीको बीचमा बसेका एक युवाले यौनजन्य दुव्र्यवहार गरेको देखिएको छ । साइबर अपराध समेत मुद्दा आकर्षित हुन सक्ने सोसेक नेपाल दैलेखका कार्यकारी प्रमुख हिरासिंह थापाले टिप्पणी गर्नुभयो ।

राउटे बस्तीकाे फाइल फाेटाे

यसअघि २१ जेठ २०७८ मा सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौरको एक होटलमा राउटे युवतीलाई मदिरा खुवाई यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि पनि सोसेक नेपालले उजुरी गरेको थियो ।

राउटे युवतीमाथि त्यो यौन दुव्र्यवहार घटनाका कसूरदार गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सुर्खेत जिल्ला अदालतले सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यो घटनामा आमसञ्चार माध्यमहरुमा भिडियो प्रसारण भएपछि यौन हिंसामा पीडितको बेज्जती गर्न नहुने भन्दै सम्वेदनशील ती सामग्री हटाउन अदालतले नेपाल पत्रकार महासंघको सहयोग मागेको थियो । अदालतको आग्रहपछि पनि भिडियो नहटाएपछि एक जना युट्युबरलाई पाँच महिना कैद भएको थियो ।

दैलेख, जाजरकोट, दैलेख र अछाम जिल्लाका जंगलहरुमा फिरन्ते जीवनशैली बिताउदै आएका राउटे समुदाय अहिले दुई समूहमा विभाजित भएर सुर्खेतको सोतखोला र करेखोलाको जंगलमा बस्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार