२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

सफल महिलाले साटे सफलताको संघर्ष



सुर्खेत – समाजमा बिभिन्न कार्य गरी सफल भएका महिलाहरुले सफलता पाउन जीवनमा गरेका संघर्षको कथा आपसी आदानप्रदान गरेका छन् । बुधवार बीरेन्द्रनगर नगरपालिका-१३, करेखोलामा महिलाहरुले घरको काममा मात्र होइन, अरु काममा पनि समय खर्चिनुपर्ने र आत्मनिर्भर बन्नुपर्ने कुरा राखेका थिए । आफूले नबाेलेसम्म अरुले आफ्नो लागि नबाेल्ने भएकाले आफ्नो अधिकार आफैले खोज्नुपर्ने कुरामा सफल महिलाहरुले जोड दिएका थिए ।

सो कार्यक्रममा ५ जना महिलाहरुले सफल हुन गरेका संघर्षवारे वेलीविस्तार लाउदै गर्दा सहभागी अरु महिलाहरु एकाग्र भै सुन्दै थिए । आफ्ना संघर्षका कुरा सुनाउनेमा कलाकार, राजनितीज्ञ, समाजसेवी र सफल किसान सफल महिलाहरु रहेका थिए । सो कार्यक्रमसंगै त्यहाँ महिला अधिकार सम्बन्धी लोकगित प्रतियोगिता पनि गरिएको थियो ।

प्रतियोगितामा महिलाहरुले लोक लयमा महिला अधिकारका गित गाउदा अरु महिलाहरु कम्मर भाचेर छमछमी नाचेका थिए । प्रतियोगितामा ४ वटा समुहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको विच भागमा किशोरकिशोरीले “हतारको निर्णयले पछुतो” नामक सडक नाटक प्रस्तुत गरेका थिए । नाटक मार्फत कार्यक्रममा सहभागीहरुलाई बालविवाह, लागुऔषध दुर्व्यसनी, महिला हिंसा र जातीय विभेद जस्ता सवालवारे सचेतना प्रदान गरिएको थियो ।

विश्वव्यापी रुपमा मार्च ८ मा मनाउन लागिएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गरिएको सो कार्यक्रममा ‘सशक्त महिला समृद्ध नेपाल’ अभियान अन्तर्गत आवाज संस्थाको आयोजनामा नवज्योती केन्द्र र १३ न. वडा कार्यालयको सहकार्यमा गरिएको थियो । कार्यक्रममा करिव २ सय जनाको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार