
दैलेख – ११५ औं अन्तरराष्ट्रिय महिला दिवस दैलेखमा विविध कार्यक्रम गरी मनाउने भएको छ । नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाको अध्यक्षतामा आज बसेको तयारी बैठकले अघिल्लाे दिन फागुन २३ र दिवसकाे दिन २४ गते मुख्य क्रियाकलापहरू गरी दिवस मनाउने निर्णय गरेको छ ।
फागुन २३ गते महिला अधिकार सवालमा अन्तरसम्वाद र कारागारका महिला बन्दीहरुलाई फलफूल वितरण कार्यक्रम राखिने र फागुन २४ गते झाँकी प्रदर्शन सहित लोकगीत प्रतियोगिता र लैंगिक हिंसा पीडित महिलाहरुलाई राहत सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको नारायण नगरपालिकाका महिला शाखा प्रमुख गीता बुढा जानकारी दिनुभयो ।
नारायण नगरपालिका, सामाजिक विकास कार्यालय, सोसेक नेपाल, हातेमालो, सशक्त महिला समृद्ध नेपाल, सीएमसी, महिला सशक्तिकरण मञ्च, सीबीओ महासंघ, एभरेष्ट क्वल, इन्सेक लगायतका नागरिक समाज संस्थाहरुको सहकार्यमा दिवस मनाउन लागिएको हो ।
सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै हरेक वर्ष ८ मार्चकाे दिन नारी दिवसको सुरुवात भएको थियो । २०२५ को नारी दिवसको नारा चाहिँ Accelerate Action अर्थात् कार्यहरूलाई गति दिऔँ भन्ने रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्