२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

एभरेष्ट क्लवले गर्‍यो नौ करोड छब्बिस लाख खर्च



दैलेख – जिल्लामा क्रियाशील गैरसरकारी संस्था एभरेष्ट क्लवले अघिल्लो आर्थिक वर्षमा २०८०/०८१ को अवधिमा नौ करोड २६ लाख आठ हजार पाँच सय ६६ रुपैंयाँ खर्च गरेकाे जनाएको छ । संस्थाको ३१ औं साधारणसभामा विभिन्न दाताहरुको साझेदारीमा १३ वटा परियोजनामा यी उक्त रकम खर्च भएको संस्थाको कोषाध्यक्ष कमला योगीले जानकारी दिनुभयो ।

महिला, दलित, जनजाति, युवा–बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतका विकासको मूलधारमा पछि पारिएको जाति, वर्ग, क्षेत्रका २० हजा भन्दा बढी घरधुरीका ४८ हजार लाभग्राहीहरुलाई प्रत्यक्ष सहयोग पुग्ने गरी सामाजिक विकास, उत्थानशील क्रियाकलापसंगै भौतिक निर्माण गर्ने खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र समुदायमा काम गरिएको एभरेष्ट क्लवका महासचिव पत्रकार यज्ञराज थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाले गैससहरुले सामाजिक चेतनास्तर उठाउन गरेको सहयोगले महिला र पिछडिएको वर्ग तथा समुदायले देशको नीति निर्माण तहमा प्रतिनिधित्व भएको बताउनुभयो । उहाँले समावेशीकरण नीतिलाई कमजोर हुन नदिन सहज हुनुपर्ने औंल्याउनुभयो ।

एभरेष्ट क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठ (राजु)को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य सावित्री मल्ल, दैलेखका प्रमुख जिल्ला अधिकरारी नवराज जैसी, राजीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु समेतले विकास, सुशासन र पादर्शिता निम्ति गैससहरुको भूमिका विषयमा बोल्नुभएको थियो ।

साधारणसभा उद्घाटन कार्यक्रम सकिएपछि एभरेष्ट क्लवले सञ्चालन गरेको परियोजना कार्यक्रमको प्रभाव विषयमा सामाजिक परीक्षण गरिएको थियो । परियोजना सञ्चालन प्रक्रिया, प्रगति, प्रतिफल र प्रभाव विषयमा सेवाग्राहीहरुले प्रतिक्रिया गरिएका थिए । सहजीकरण पत्रकार भीम सिजापतिले गर्नुभएको थियो । साधारणसभाकाे अवसरमा प्रभातफेरी समेत गरिएकाे थियाे ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार