दैलेख – नारायण नगरपालिकाका मेयर लोमन शर्माले पत्रकारहरुलाई सकारात्मक सन्देशमूलक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दैलेख शाखाले सदरमुकाममा आयोजना गरेको पत्रकारहरुका लागि एक हप्ते ग्राफिक डिजाइन तालिम उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
‘पत्रकारहरुले नकारात्मक सन्देश जाने समाचार खोज्नु भएन । सरकारले कैयौं सकारात्मक सन्देश प्रवाह गर्ने गतिविधि पनि गरेका हुन्छन्, सकारात्मकतातिर ध्यान दिनुप¥यो’ मेयर शर्माले भन्नुभयो । ‘तथ्यमा आधारित भए गलतलाई पनि लेख्नुपर्छ तर सकारात्मक सन्देशका समाचारले समाजमा सकारात्मक धारणाको विकास गर्न मद्दत पुग्छ’ उहाँले भन्नुभयो ।
हामी भर्खर चुनाव जितेर आएको बेला एकपछि अर्को धेरै नकारात्मक समाचारहरु आए, जिम्मेवार पत्रकारहरुले नै कच्चा तरिकाले प्रस्तूत भएको लाग्थ्यो, पछिल्लो समय परिपक्वता आएको देखेर खुशी लागेको छ’ मेयर शर्माले टिप्पणी गर्नुभयो । महासंघले सबै पत्रकारलाई समान हिसावले समेटेर लैजाओस, हामीले सहयोग गर्न सजिलो पर्छ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सचिव विशाल सुनारले नेपाल पत्रकार महासंघले ग्राफिक डिजाइन तालिम जस्तै फोटोग्राफी, भीडीयोग्राफी, रेडियो रिपोर्ट तयार पार्ने जस्ता पत्रकारहरुका लागि व्यवसायिक क्षमता विकास तालिमहरु सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले महासंघका यस्ता रचनात्मक काममा सहयोग गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
तालिम उद्घाटन कार्यक्रमका सभाध्यक्ष नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारले पत्रकार महिलाहरुको क्षमता विकास, रेडियो रिपोर्ट तयार पार्ने जस्ता तालिमहरु सञ्चालन गर्ने योजना रहेको सुनाउदै यसले पत्रकारहरुको लागि व्यवसायिक क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस यूनियनका जिल्ला सभापति अभिसेक अनुराग, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष उदयराज अधिकारी, समाजवादी प्रेस संगठनका कर्णाली प्रदेश कोषाध्यक्ष कृष्ण दैलेखी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य लगायतको उपस्थिति थियो । तालिमको सहजीकरण प्रेस सेण्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारीले गरिरहनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्