दैलेख – स्थानीय सरकारले सञ्चालन गरेको विकास कार्यक्रमहरुमा बालबालिकाको सवालमा लगानी कति छ ? कसरी परिचालन गरिरहेको छ ? यो विषयमा नारायण नगरपालिका र आठबीस नगरपालिकामा बजेज विनियोजन र कार्यान्वयन विषयमा परीक्षण गर्न लागिएको छ ।
सेभ द चिल्ड्रेन र एभरेष्ट क्लवको साझेदारीमा सञ्चालित नागरिक समाज संस्था सवलीकरण सिडा–संकल्प परियोजनाको कार्यक्षेत्र दैलेखको नारायण र आठबीस नगरपालिकामा बालबालिकाका क्षेत्रमा बजेट बिनियोजन, कार्यान्वयन र प्रभाकारिता बारे परीक्षण गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८१/०८२ सम्म पाँच वर्ष अवधिमा विनियोजन गरेको बजेट मध्ये रकमान्तरणको क्रममा कटौती गरेको वा थपेको, लगानीको क्षेत्रमा प्रतिफल, त्यसमा पारदर्शिता र जवाफदेहिताको अवस्था विषयमा परीक्षण गरिने जनाइएको छ ।
ती दुई नगरपालिकाहरुले सामाजिक विकास र भौतिक निर्माणका क्षेत्रमा गरेको लगानीको अवस्था विश्लेषणका आधार र प्रक्रिया विषयमा सुशासनकर्मी दुर्लभ बोगटीले प्रष्ट्याउनु भयो । नीति निर्माण तहका जनप्रतिनिधि, नीति कार्यान्वयनमा जिम्मेवार क्षेत्रगत शाखा प्रमुख कर्मचारीहरु भूमिका समेत मूल्यांकन हुने बताइएको छ ।
शनिबार नारायण नगरपालिकामा मेयर लोमन शर्मा, उपमेयर तप्ताकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत रेशम बुढा, त्यसैगरी आइतबार आठबीस नगरपालिकामा गरिएको अभिमुखीकरण कार्यक्रममा त्यहाँका मेयर तर्कबहादुर बडुवाल, उपमेयर कल्पना थापा, प्रमुख कार्यकारी अधिकृत डिलबहादुर शाही समेत कार्यपालिकाका सदस्यहरुको सहभागिता थियो ।
जनप्रतिनिधिहरुले बालबालिका क्षेत्रमा लगानीे, परीक्षणका लागि पारदर्शी हिसाव, विकासको प्रभाव र प्रतिफलबारे आवश्यक सूचनाहरु दिन कुनै कञ्जुस्याईं नगरिने प्रतिवद्धता जनाउनुभएको नागरिक समाज संस्था सवलीकरण सिडा–संकल्प परियोजना संयोजक बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्