२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

किशोरीलाई खोप, ३०–४९ उमेरकालाई उपचार



दैलेख – स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लाभर १० देखि १४ वर्ष उमेर समूहका १६ हजार भन्दा बढी किशोरीहरुलाई पाठेघर क्यान्सरबाट जोगाउन ‘सिकाेलिन’ खोप लगाउने भएको छ । दैलेख सदरमुकाममा आज सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा यो जानकारी दिइएको हो ।

सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पाठेघर क्यान्सरबाट जोगाउन कशोरीहरुलाई खोप लगाउने, बयस्क महिलाहरुको पाठेघर जाँच गर्ने र निशुल्क उपचार अभियानको प्रचारप्रसारमा सघाउन सबैलाई आग्रह गर्नुभयो ।

पहिलो चरणमा माघ २२ गतेदेखि २५ गतेसम्म भगवतमाई, भैरबी, डुंगेश्र, गुराँस, महाबु, नौमूले गाउँपालिकासंगै नारायण नगरपालिकामा र दोश्रो चरणमा माघ २७ गतेदेखि ३० गतेसम्म दुल्लू, आठबीस, चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिमा खोप दिइने स्वास्थ्य सेवा कार्यालयका इञ्चार्ज डा. रत्नबीर सुनारले जानकारी दिनुभयो ।

दुई चरणमा दैलेखका एक सय ५७ आधारभूत तथा माध्यमिक विद्यालमा कक्षा ६ देखि १० कक्षा पढ्दै गरेका १५ हजार चार सय ४३ किशोरीहरुलाई विद्यालयमै र पढाई छोडेका आठ सय ५४ जना किशोरीहरुलाई विभिन्न ८३ वटा स्थानमा ‘सिकाेलिन’ खोप दिने तयारी रहेको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

१० देखि १४ वर्ष उमेर समूहरुका सबै किशोरीहरुलाई खोप लगाउने बाहेक ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरुलाई स्वास्थ्य संस्थामा पाठेघर जाँच गर्ने र आवश्यकता अनुसार निशुल्क उपचार सेवा पु¥याउने अभियानको कार्यक्रम समेत रहेको खोप अधिकृत रेग्मीले बताउनुभयो ।

पाठेघरको क्यान्सर लागेका मध्ये ६६ प्रतिशत महिलाको अकाल मृत्यू हुने गरेको तथ्यांक पत्ता लागेपछि नेपाल सरकारले किशोरीहरुलाई पाठेघर क्यान्सरबाट जोगाउन खोप लगाउने, ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरुको पाठेघर जाँच गर्ने र निशुल्क उपचार व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार