
बुटवल – जथाभाबी चौपाया छाडा छाड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन शुरू गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान शुरू गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा ७ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गएको हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ । अहिलेसम्म ७८ वटा गाई गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले जानकारी दिनुभयो ।
‘छाडा चौपाया आफ्नो भनी दाबी गर्न आउनुभएका दुई जनालाई ७ हजार रुपैयाँका दरले जरिवाना गरेर गाई जिम्मा लगाएका छौँ’, यादवले भन्नुभयो, ‘छाडा चौपाया नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवाना गराई फेरी छाडा नछोड्ने शर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।’
गत वर्ष नवलपरासीको गौशालामा चौपाया व्यवस्थापन गरेको नगरपालिकाले अहिले कपिलवस्तुको वाणगंगा नगरपालिका–२ मा रहेको गौशालामा चौपाया व्यवस्थापन गर्न थालेको छ । छाडा चौपायाले सडकमा जाम गर्नुका साथै बालीनाली खाइदिन थालेपछि छाडा चौपाया व्यवस्थापन अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तिायक अहमद खानले बताउनुभयो ।
गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउने र बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने गरेकाले नगरमा छाडा चौपायाको समस्या हुने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्