२०८२ वैशाख ३ , बुधबार (2025 Apr 16, Wednesday)

कारागारका कैदीबन्दीहरुका लागि स्वास्थ्य शिविर



दैलेख – स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश कार्यालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा दैलेख कारागारका कैदीबन्दीहरुका लागि एक दिने स्वास्थ्य शिविर गरेको छ । शिविरमा १८ जना महिला र एक सय ४९ जना पुरुष गरी एक सय ६७ जना कैदीबन्दीको स्वास्थ्य उपचार गरिएको स्वास्थ्य सेवा निर्देशनालयका कार्यक्रम संयोजक पदम केसीले जानकारी दिनुभयो ।

धेरैजसोको छाला रोग समस्या देखिएको, क्षयरोग, दमका विरामीहरु रहेको उपचारमा संलग्न स्वास्थ्य सेवा कार्यालय दैलेखका इञ्चार्ज डा. रत्नबीर सुनारले जानकारी बताउनुभयो । शिविरमा विरामीहरुलाई एकीकृत स्वास्थ्य परीक्षणसंगै स्वास्थ्य सेवा परामर्श र उपचार समेत गरिएको थियो ।

शिविरमा वास्थ्य सेवा कार्यालय दैलेखका इञ्चार्ज डा. रत्नबीर सुनारको टोलीसंगै स्वास्थ्य सेवा निर्देशनालयका कार्यक्रम संयोजक पदम केसी, एमएसएस अधिकृत मोहन चपाइँ, बरिष्ठ मेडिकल ल्याव टेक्निसियन ओमराज आचार्यको टोलीले कारागारका कैदीबन्दीलाई उपचार तथा परामर्श गर्नुभएको थियो ।

दैलेख कारागारमा एक सय ५२ जना पुरुष, १८ महिला र दुई जना आश्रित बालबालिका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश कार्यालय सुर्खेतले यस अघि सुर्खेत र सल्यान कारागारमा पुगेर एकीकृत स्वास्थ्य परीक्षणसंगै स्वास्थ्य सेवा परामर्श र उपचार समेत गरिएको थियो ।

 

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार