पोखरा – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।
गएकाे कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछानेमाथि मुद्दा चलेको छ । उनी काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने भएका छन् । रविलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाडिएको हो ।
कास्की जिल्ला अदालतले सात जना आरोपितसँग धरौटी माग गरेको थियो । पूर्वडिआइजी छविलाल जोशीलाई पनि ८८ लाख रूपैयाँ धरौटी माग गरिएको थियो । लामिछाने र जोशीविरूद्ध काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको समेत आरोप छ । यी दुई जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ ।
लामिछानेको काठमाडौंमा थुनछेक बहस सकिएपछि अन्य जिल्ला अदालत रूपन्देही, चितवन र पर्सामा पनि उपस्थित हुनुपर्नेछ । कमल सुवेदीसँग तीन लाख र सुनिता नेवासँग चार लाख रूपैयाँ धरौटी माग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्