२०८१ पुस २८ , आइतबार (2025 Jan 12, Sunday)

जातीय विभेद तथा लैंगिक हिंसा विरुद्ध सडक नाटक



दैलेख – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा वडा नं.५ मा रहेको जनता मावि बस्तेकोटमा गठित बाल अधिकार समूहले शुक्रबार जातीय छुवाछुत तथा लैंगिक हिंसा विरुद्घ सडक नाटक प्रदर्शन गरेको छ ।

बाल अधिकार समूहले अविभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा जातीय विभेद र लैंगिक हिंसा अन्त्य गर्न मानसिक सोच बदल्नु पर्ने सडक नाटकमा विषयबस्तु समेटिएको थियो । जातीय विभेद सामाजिक समस्या भएको र अपराध गर्नेलाई कानुनी कारवाही सवाल गरिएको नाटकले सन्देश दिएको थियो ।

जातीय छुवाछुत तथा लैंगिक हिंसा विरुद्ध सडक नाटक हेरिसकेपछि जनता मावि बस्तेकोटका प्रधनाध्यापक जनक कार्कीले इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद बिरुद्ध विविध खाले कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि गरेको भन्दै धन्यवाद दिनुभयो ।

सडक नाटकले प्रभावकारी जनचेतना दिएको स्थानीय अभिभावक लक्ष्मण कार्कीले बताउनुभयो । त्यस अवसरमा विब्यस अध्यक्ष जयबहादुर कार्कीले समाजमा भएका विभेदलाइ अन्त्य गर्न बाल अधिकार समुहले सचेतना मुलक नाटक प्रदर्शन गरेको भन्दै इन्सेक र विद्यालयको रचनात्मक कामको प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : २०८१ पुस २० गते शनिबार