२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

राजनीतिक स्वच्छता धुमिलियाे : प्रचण्ड



काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको असहिष्णु व्यवहारले पछिल्लो समय राजनीतिक स्वच्छता धुमिलिएको बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीकै कार्यशैली र व्यवहारले सरकार र प्रतिपक्षी दलहरूबीच संवाद रोकिएको, देशको स्थिति गम्भीर र जटिल अवस्थामा दाहालले चर्चा गर्नुभयो ।

‘मुलुकको स्थिति अलिकति गम्भीर र जटिल छ । देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्छ । राजनीति नीतिहरूको राजा हो’ दाहालले भन्नुभयो, ’राजनीति सफा भएन, राजनीति सही नियतअनुसार अघि बढेन भने त्यसको नकारात्मक प्रभाव चौतर्फी पर्छ नै, हामीले त्यसको सफाई गर्नैपर्छ ।’

राजनीतिमा देखिएको फोहोर सफाइ गर्नकै लागि नै आफू प्रधानमन्त्री रहेका बेला राजनीनिक नेतृत्व तहमा पनि लगातार संवाद गरेको दाहालले प्रष्ट्याउनुभयो । सत्ता र प्रतिपक्षबीच संवाद भइरहनुपर्ने उहाँको भनाइ थियो । ‘अहिले सत्ता पक्ष र प्रतिपक्षको बीचमा त्यस खालको संवाद रोकिएको छ । त्यसलाई अगाडि बढाउने भन्दा प्रतिपक्ष कहिले–कहिले भन्ने गरिन्छ, सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा हाे’उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८१ पुस २० गते शनिबार