दैलेख – सामाजिक कुचलनले प्रसय पाएको बालविवाह अन्त्य गर्न नारायण नगरपालिकाले बालविवाह रोकथाममा कडाइका साथ काम गर्न रणनीति तयार पारेको छ । बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल दैलेखको सहकार्यमा मंगलबार र बुधबार दुई दिने बालविवाह अन्त्य सम्बन्धी रणनीतिक योजना कार्यशाला नै चलाएर रणनीति बनाइएको हो ।
नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा, उपप्रमुख तप्ताकुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम सापकोटा, ११ वटै वडाका वडाध्यक्ष, नगरपालिकाका विषयगत शाखा प्रमुख, नागरिक समाज समेतको सहभागितामा नगरपालिकाले तयार पारेको बालविवाह अन्त्य सम्बन्धी रणनीतिक योजनामा पृष्ठपोषण दिएर योजनालाई अन्तिम रुप दिइएको छ ।
संयुक्त राष्ट्र संघले लिएको दिगो विकास लक्ष्य, सन् २०३० सम्म नेपाल सरकारको बालविवाह अन्त्यको लक्ष्य लिएको अवस्थामा नारायण नगरपालिकाले अवको तीन वर्षमा बालविवाह अन्त्यको लागि सचेतनामूलक कार्यक्रम, युवाहरुलाई शिक्षा र जीवन उपयोगी काममा क्रियाशील गराउनेदेखि बालविवाह भएको घटनामा कानूनी कारवाही चलाउनेसम्मको रणनीतिहरु तय गरिएको छ ।
सामाजिक प्रयासबाटै बालविवाह रोक्न सामाजिक अगुवाहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी प्रभावकारी जनचेतना दिइने नगरप्रमुख लाेमन शर्माले बताउनुभयो । त्यसबखत नेपाल पत्रकार महासंघका अध्यक्ष अमर सुनारले बालविवाह गर्नेहरुलाई कानूनी कारवाही चलाइनुपर्ने धारणा राख्नुभयो । नारायण नगरपालिकाका सामाजिक शाखा प्रमुख खमबहादुर थापाले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्