२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

झाँसीको अस्पतालमा आगलागी, १० शिशुको मृत्यू



भारतको उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । शुक्रबार राति झाँसीको लक्ष्मीबाइ मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यू भएको हो ।

केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा ३७ जना नवजात शिशु घाइते भएका र उनीहरूको उपचार भइरहेको उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले जानकारी दिनुभएको सञ्चार माधयमहरुले उल्लेख गरेका छन् ।

एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको पाइएको पनि बताएका छन । झाँसीका एसएसपी सुधासिंहले अस्पतालमा ४७ जना शिशु रहेकामा ३७ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उद्धार गरिएकाहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको थियो ।

मृत्यू भएकामध्ये ७ शिशुको पहिचान खुलेको र बाँकी तीन जनाको पहिचान खुलाउने प्रयास भइरहेको पनि बताइएकाे छ । आगलागीको कारण विद्युत सर्ट भनिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले झाँसी प्रहरीलाई घटनाको अनुसन्धान गरी १२ घन्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार