दैलेख – स्वास्थ्य बीमा बोर्डले चैत २५ गते १० वर्ष पार गरेको छ । ‘राज्यको लगानी नागरिकको योगदान, स्वास्थ्य बीमा साझा’ अभियान भन्ने मूल नाराका साथ दशौं वार्षिकोत्सव स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यालय दैलेखले पनि मनाएको छ ।
स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यालय दैलेखका संयोजक सन्दीप पुनमगर अनुसार दैलेखमा स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरुको संख्या ४७ हजार ५० जना रहेको छ । यो संख्या जिल्लाको कुल जनसंख्या २ लाख ५३ हजार ३१९ को १८ प्रतिशत हुन आउँछ ।
बीमा आवद्ध हुने मध्ये पालिकागत हिसावले आठविस नगरपालिकाको जम्मा जनसङ्ख्या २९७३, भगवती माई गाउँपालिकामा जम्मा ३३६८, भैरवी गाउँपालिकामा ३४७१, चामुण्डाबिन्दासैनी नगरपालिकामा ४०३६ छ ।
त्यसैगरी दुल्लु नगरपालिकामा ८४३४, डुंगेश्वर गाउँपालिकामा ३८२०, गुराँस गाउँपालिकामा ३७७८, महाबु गाउँपालिकामा २९८६, नारायण नगरपालिकामा ८७२५, नौमुले गाउँपालिकामा २१२४ र ठाँटीकाँध गाउँपालिकामा ३३३५ छन् ।
स्वास्थ्य बीमा बोर्डले ७० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरू ती व्यक्तिलाई मात्र निशुल्क, एचआईभीएड्स, क्षयरोग र कुष्ठरोग प्रभावितका हकमा परिवारका सबै सदस्यहरुलाई स्वास्थ्य बीमा सेवा निःशुल्क दिने गरेको छ ।
त्यसैगरी नेपाल सरकारले स्वास्थ्य स्वयंसेविकाका परिवारलाई ५० प्रतिशत छुट दिएकोमा कर्णाली प्रदेश सरकारले थप ५० प्रतिशत व्यहोरेपछि चाहिँ स्वास्थ्य स्वयंसेविकाका परिवारलाई निशुल्क स्वास्थ्य बीमा सेवा दिइएको छ ।
स्वास्थ्य बीमा आबद्ध हुन ५ जना परिवारलाई ३५ सय लागतमा १ लाख बराबरको उपचार सेवा पाउने गरेका छन् । ५ जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रति सदस्य थप ७ सय का दरले रकम थप लाग्दछ । ती परिवारले थपिएका हरेक सदस्य बराबर थप २० हजारका दरले प्रतिव्यक्ति उपचार सेवा पाइरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्