दैलेख – मंसिर १६ गते हुने महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदको उपनिर्वाचनको कार्य सम्पादन गर्न दुई स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् ।
महाबुमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे र दुल्लू नगरपालिका–१३ का निर्वाचन अधिकृत दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्दबहादुर मल्लले औपचारिक कार्यक्रम गरी कार्यालय स्थापना भएको जानकारीसंगै निर्वाचन कार्यक्रमहरु प्रकाशित गर्नुभएको छ ।
उपनिर्वाचनको कार्यलाई स्वच्छ, मर्यादित र शान्त बनाउन निर्वाचन आचार सहिंताको पालना, राजनीतिक दल र उम्मेदवारले गर्ने चुनावी प्रचारका कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने, शान्ति–सुरक्षा सवाल बारे सबै क्षेत्रको सहयोग बारे प्रकाश पार्नुभएको थियो ।
महाबुको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पाण्डेका साथमा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसी, नेपाली सेनाको कालिदत्त गुल्मका सेनानी सुमन कार्की, प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरीका डीएसपी चन्द्रबहादुर खत्रीको पनि उपस्थिति थियो ।
त्यसबखत महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले आफूहरुले उपनिर्वाचन कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोगमा कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
दुल्लू नगरपालिका–१३ का निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा दुल्लू नगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष गञ्जबहादुर भण्डारी, वडासदस्य बिष्णुकुमारी कुमाल, वडासचिव भद्रबहादुर हमाल, राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयहरुको उपस्थिति थियो ।
निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानमा कार्यालय स्थापना गर्ने, मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने, ३ गते उम्मेदवार विरुद्ध दावी बिरोध, ४ गते दावी विरोधको जाँचबुच गरी निर्णय दिने, ५ गते उम्मेदवारी फिर्ता लिन पाउने र ५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह दिने निर्वाचन कार्यतालि रहेको छ ।
आयोगले देशभर उपचिर्वाचन हुने ४४ पदका लागि मंसिर १३ गते राति १२ बजेपछि चुनावी प्रचार गर्न नपाइने मौन समय सुरु हुने जनाएको छ । मंसिर १६ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइने जनाइएको छ । निर्वाचन आयोगले निर्वाचन हुने स्थानमै निर्वाचन अधिकृतको कार्यालय रहने जनाएको छ ।
उपनिर्वाचन सुव्यवस्थित बनाउन राजनीतिक दल, सराेकारवाला पक्ष र समुदायसंग छलफल गर्नुसंगै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे र दुल्लू नगरपालिका–१३ का निर्वाचन अधिकृत दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्दबहादुर मल्लकाे टाेलीले मतदान स्थलकाे अवस्था बारे निरीक्षण गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्