२०८३ भदौ २० , शनिबार (2026 Sep 5, Saturday)

रेडक्रसको स्थापना दिवसमा अन्तरक्रिया



दैलेख – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको ६४औँ स्थापना दिवसको अवसरमा शुक्रबार दैलेख सदरमुकाममा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रमका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखको आँखा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने नारायण नगरपालिका–७ निवासी शेरबहादुर खड्कालाई कदरपत्रसहित यशस्कर सदस्यता प्रदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य भेषबहादुर थापाले अन्तर्राष्ट्रिय रेडक्रस अभियानका संस्थापक हेनरी ड्युनाको जीवनी र मानव सेवामा उनको योगदानबारे चर्चा गर्नुभयो । युद्धमा घाइतेको पीडा प्रत्यक्ष देखेपछि ड्युनाले मानवीय सहायताका लागि संगठित प्रयास आवश्यक ठानेको र त्यसैबाट रेडक्रस अभियानको सुरुवात भएको उहाँले बताउनुभयो ।

थापाले रेडक्रसले जात, धर्म, भाषा, वर्ग र राजनीतिक आस्थाभन्दा माथि उठेर संकटमा परेका मानिसलाई मानवीय सहायता उपलब्ध गराउँदै आएको बताउनुभयो । विपद्, दुर्घटना, महामारी तथा अन्य आपत्कालीन अवस्थामा स्वयंसेवक परिचालन गरी जीवनरक्षा र राहतमा पुर्‍याउँदै आएको योगदानले रेडक्रसलाई विश्वव्यापी मानवीय अभियानका रूपमा स्थापित गरेको उहाँले उल्लेख गर्नुभयो ।

स्वयंसेवी रक्तदाता समाज दैलेखका अध्यक्ष अमर सुनारले रक्तदान मानव सेवाको प्रत्यक्ष र महत्वपूर्ण माध्यम भएको बताउनुभयो । नियमित रक्तदानको संस्कार विकास गर्न सके उपचारका क्रममा हुने रगत अभाव कम गर्न सकिने भन्दै युवालाई रक्तदान अभियानमा जोड्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति निर्जनकुमार खत्रीले स्थानीय आवश्यकता र समुदायका समस्यालाई केन्द्रमा राखेर रेडक्रसका मानवीय कार्यक्रम विस्तार गरिने बताउनुभयो । विपद् व्यवस्थापन, रक्तसञ्चार, स्वास्थ्य सेवा तथा समुदायमा आधारित गतिविधिलाई थप प्रभावकारी बनाउँदै सेवा पहुँच विस्तार गर्ने उहाँले उल्लेख गर्नुभयो ।

रेडक्रस अभियान मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वैच्छिक सेवा, एकता र विश्वव्यापकता गरी सात मूलभूत सिद्धान्तमा आधारित छ । यही सिद्धान्तकाे आधारमा विना भेदभाव विपदमा परेका नागरिकहरुकाे जीवनरक्षा, राहत, स्वास्थ्य सेवा र पुनःस्थापनामा योगदान पुर्‍याउनु रेडक्रसको मानवीय सेवाको आधार हो ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार