बीरगञ्ज – हृदयाघात समस्याको उपचारका लागि साउन ९ गते नारायणी अस्पतालको आकस्मिक कक्ष भर्ना गरिएका बीरगञ्ज–२५ का ४५ वर्षीय राजकुमार पटेलको मृत्यूपछि अस्पताल तोडर र प्रशासनको गैरजिम्मेवार व्यवहारको परिणाम देशभरका अस्पतालको उपचार प्रभावित भएको छ ।
नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा चिकित्सक र अस्पतालको सुरक्षा सवालामा वार्ता गर्न प्रशासनमा गएका चिकित्सकहरूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै सीडीओ भोला दाहाल र एसपी सुदीपराज पाठक माथि राज्यबाट कारबाही गर्न माग गरेको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा उनीहरूले यस्तो कदम चालेका हुन् ।
आन्दोलनरत चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गर्दै आएका थिए । माग सम्बोधन नभएपछि नारायणी अस्पतालका सबै चिकित्सकले सामूहिक राजीनामा दिएको जनाइएको छ ।
चिकित्सकहरूको आन्दोलनका कारण हिजो मंगलबारदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा प्रभावित भएका छन् । स्वास्थ्य मन्त्रालयले दोषीमाथि कारबाही गर्ने आश्वासन दिँदै ओपीडी सञ्चालन गर्न आग्रह गरे पनि चिकित्सकहरू काममा फर्किएका छैनन् ।
नेपाल चिकित्सक संघले माग पूरा नभए देशभरका चिकित्सकले समेत राजीनामा दिन सक्ने चेतावनी दिएको छ । गत शनिबार उपचारका क्रममा हृदयघात भएका एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकमाथि हातपात गरेका थिए ।
घटना कसरी सुरु भयो ?
- साउन ९ गते वीरगञ्ज–२५ का ४५ वर्षीय राजकुमार पटेललाई छातीसम्बन्धी समस्या (हृदयाघात) भएपछि नारायणी अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो ।
- उपचारकै क्रममा उहाँको मृत्यु भयो ।
- मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । केहीले अक्सिजन सार्ने क्रममा हटाइएको भन्ने आरोप पनि लगाए । यो आरोपको सत्यता छानबिनमा रहेको छ।
त्यसपछि के भयो ?
- मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले आकस्मिक कक्षमा तोडफोड गरे ।
- ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट भयो, जसबाट उहाँको टाउकोमा गम्भीर चोट लाग्यो र उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइयो ।
सीडीओ र एसपीको राजीनामा किन मागियो ?
- सुरुमा चिकित्सकहरूको मुख्य माग आक्रमणकारीलाई पक्राउ गरी कानुनी कारबाही गर्नु र अस्पतालमा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु थियो ।
- त्यसपछि चिकित्सकहरू वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगे ।
- चिकित्सक पक्षको दाबी अनुसार, वार्ताका क्रममा नेपाल चिकित्सक संघका एक प्रतिनिधिले “दोषीमाथि कारबाही नभए सीडीओ र एसपीको राजीनामा पनि माग्न सकिन्छ” भनेपछि वातावरण तनावपूर्ण बन्यो ।
- चिकित्सकहरूले आरोप लगाए कि त्यसपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) ले अपशब्द प्रयोग गरे, प्रहरी लगाएर चिकित्सकलाई घेरे, केही समय नियन्त्रणमा राखे र मोबाइलसमेत खोसे । यही व्यवहारको विरोधमा उनीहरूले सीडीओ र एसपीको राजीनामा माग्दै सामूहिक राजीनामा दिने निर्णय गरे ।









प्रतिक्रिया दिनुहोस्