दैलेख – नेकपा एमाले जिल्ला कमिटी दैलेखको १० औं पूर्ण बैठक स्थानीय सवाल र समसामयिक राजनीतिक विषयलाई बिश्लेषण गर्दै ९ वटा निर्णय गरेको छ । पार्टीले बुधबार दैलेख सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन, फागुन २१ मा भएको संसदीय निर्वाचन, रास्वपा नेतृत्वको सरकारका कार्यशैलीप्रति आपत्ति जनाइएको छ ।
मंगलबार र बुधबार बसेको २ दिवसीय जिल्ला कमिटीको बैठकले ९ वटा निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले जारी गर्नुभएको वतरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । जेन्जी आन्दोलनको नाममा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गरिएको र अहिले विरामी भई उपचारत ओलीको स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ ।
गएको फागुन २१ मा भएको संसदीय निर्वाचनमा पार्टीको हार स्वीकार गर्दै पार्टी पङ्तिलाई सुदृढ बनाउदै लिने निर्णय गरेको भन्दै पार्टीका जिल्ला अध्यक्ष शाहीले कार्यकर्ताको जीवनशैली र व्यवहारले सुधार गर्ने, त्यही अन्तरगत पार्टीको संगठित सदस्यता २०८३ जेठ मसान्तसम्म गरिसक्ने जिल्लाका ११ वटै पालिका, ९० वटा वडा तहका कमिर्टीहरुलाई परिचालन गर्ने निर्णय नं. ३ मा उल्लेख छ ।
भारत र चीनले चीनको कैलास मानसरोबर तीर्थयात्राका लागि नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको बाटो प्रयोग गर्न लागेको प्रति उक्त मार्ग प्रयोग गर्न नदिन नेपाल सरकारलाई अनुरोध गर्ने एमालेको जिल्ला कमिटीले निर्णय गरेको छ । सरकारले सुकुम्बासी समस्या समाधान गर्न ठोस योजना नल्याई सुकुम्बासीका टहर हटाउन डोजर आतंक फैलाएको भन्दै सरकारको विरोध गरेको छ ।
परीक्षणबाट पुष्टि भइसकेको दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन्को काम अघि बढाउन र १८ वर्षदेखि अड्किएको माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको काम अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसंगै रास्वपाले सत्ता सम्हाले लगतै संसद रोकेर अध्यादेशबाट शासन चलाएको र ट्रेड युनियन खारेज गरेको विषयमा पनि नेकपा एमालेको १० पूर्ण बैठकले आपत्ति जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्यद्वय सूर्यबहादुर शाही, नन्दा आचार्य, पार्टीका कर्णाली प्रदेश कमिटीका सदस्य बरुनाथ योगी, डा. रमेश आचार्य, बीरबहादुर शाही, कुमारबिक्रम शाही, जिल्ला कमिटीका उपाध्यक्ष प्रेमबहादुर बुढा, उपसचिव तारा सोनी लगायतको उपस्थिति थियो । पत्रकार सम्मेलनमा एमालेका निर्णय र समसामयिक राजनीतिक परिवेश बारे जिज्ञासा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्